धरान । धरान इटहरीको सडक खण्डमा गोली हानी हत्या गरेको आरोपमा प्रहरीले उक्त हत्यामा संलग्नलाई धमाधम पक्राउ  गर्न थालेको छ । 

प्रहरीले आज सम्म हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिसकेको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका अनुसार  विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक  जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धरान ४ का २७ वर्षीय युनेश राईलाई पक्राउ गरेको हो ।   पक्राउ परेका राईले पेस्तोलको गोली राखिदिने गरेका प्रहरीको भनाई छ ८ थान गोली पनि बरामद गरेको छ । साउन ५ गते बेलुका जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गर्ने क्रममा लुटेरा समुहले गोली प्रहार गरि चौधरीलाई गंभीर घाइते वनाएका थिए भने चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो  । 

हाल सम्म को को पक्राउ परे ? 

रोहितको हत्या प्रकरणमा पक्राउ पर्ने प्रतिवादीको सङ्ख्या ६ जना पुगेको छ । प्रहरीले विराटनगर १५ का ४१ वर्षीय अजय कुमार शर्मा, भद्रपुर नगरपालिका १ घर भई धरान उपमहानगरपालिका ८ मा बस्दै आएका प्रकाश लिम्बु र धरानका ३१ वर्षीय सुजन तामाङ,लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरिसकेको छ ।