धरान । धरान उपमहानगरपालिका वडा नम्बर –९ धरान वजारभित्रै भएपनि अहिले सम्म आधारभुत स्वास्थ्य केन्द्र थिएन । वडावासीहरुले सामान्य स्वास्थ्य उपचारको निम्ति पनि निजी मेडिकलहरुमा जानु पर्ने वाध्यता रहेको थियो ।

2 1

तर अव प्राथमिक उपचार र सरकारले दिएको स्वास्थ्य सेवा लिनको लागि आफ्नै वडामा आधारभुत स्वास्थ्य केन्द्र भएपछि वडावासीहरु खुशी भएका छन भने दैनिक जसो एक दर्जन भन्दा बढीले स्वास्थ्य सेवा लिइरहेको वडा नम्बर ९ की स्वास्थ्य केन्द्र प्रमुख कल्पना धमालले वताउनु भयो ।

उहाँले भन्नु भयो,‘दैनिक सरदर एक दर्जभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्,यहाँ सरकारले दिएको औषधी उपचार र सेवाहरु प्रवाह गर्न शुरु गरेपछि वडावासीहरु आउन थाल्नु भएको छ।’प्रमुख धमलाका अनुसार स्वास्थ्य केन्द्रमा सरकारले दिएको निशुल्क औषधी सहित प्राथमिक उपचार डेसिङ,नियमित गर्भवती जाँच,बच्चा र आमाको हेरचाह (घरैमा पुगेर) आइरन चक्की र भिटामिन वितरण,खोप सेवा लगायतको स्वास्थ्य उपचार अव वडावासीले पाउने भएका छन् । 

वडा कार्यालयले धरान ९ स्थित आचार्य लाइनमा भाडामा कोठा लिएर स्वास्थ्य केन्द्र सेवा शुरु गरेको हो । वडाध्यक्ष रुपेश आचार्यका अनुसार जनप्रतिनिधी भएर आएपछि वडावासीलाई स्वास्थ्य सेवामा पहँुच पुर्याउन धरान उपमहानगरपालिका र स्वास्थ्य महाशाखासँगको माग गरेर वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न सफल भएको वताउनु भएको छ । उहाँले भन्नु भयो,‘यही साउन महिनादेखि शुरुवात गरेका हौ, लामो समयको पहलमा वडामा स्वास्थ्य केन्द्र ल्याउन सफल भयौं,यस भन्दा अघि यहाँ स्वास्थ्य केन्द्र नै थिएन,त्यसैले मैले पहिलो प्रथामिकता स्वास्थ्य केन्द्र ल्याउनको लागि पहलकदमी गरेर सेवा सुरु भएको छ।’

उहाँका अनुसार शुरुवाती अवस्थामा केन्द्र शुरु गरेर अव छट्टै विरामीको उपचारको निम्ति वेड सहितको सेवा दिने लक्ष्य वडाले लिएको छ । क्रमैसँग वडावासीको स्वास्थ्य जस्तो कुरालाई मध्यनजर गर्दै व्यवस्थित स्वास्थ्य केन्द्र सन्चालन गर्ने लक्ष्य समेत लिएको वताइएको छ ।