विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ । 

प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्नेलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले यसका लागि यही साउन १६ गते मङ्गलबार अपराह्न ५ बजेसम्मको समय तोक्नुभएको छ ।

गत असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनविरुद्ध  सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतले साउन ११ को पूर्ण इजलाशबाट जनु विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत् तवरले सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो । 

“विसं २०८० साउन १७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नु भन्ने परमादेश जारी भएकाले सोही आधारमा प्रदेश प्रमुखले आह्वान गरिएको हो’, जारी विज्ञप्तिमा भनिएको छ ।