धरान । कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक–खण्डको चारकोसे जङ्गल क्षेत्रमा एक युवालाई गोली हानी हत्या गरिएको छ । 

शुक्रबार साँझ  तराहरादेखि केही माथि जंगलमा मोरङ विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको लुटेराको समुहले गोली हानी हत्या गरेका हुन । उहाँको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानमा लुुटेराको समुहले हत्याएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनु भएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।  लुटपाटकै क्रममा हत्या भएको वा कुनै रिसइवीले हत्या गरिएको भन्ने अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनालाई प्रहरीले विभिन्न कोणबाट अध्ययन सुरु गरेको छ । 

  चौधरी नोबेल अस्पताल विराटनगरमा पूर्व–प्राविधिकका रूपमा कार्यरत  रहनु भएको थियो । उहाँ साथमा रहनु भएकी सुमना खत्रीले प्रहरीलाई दिएको प्रारम्भिक बयानका अनुसार तीनजनाको समूहमा आएका अज्ञात समूहले चौधरीलाई गोली प्रहार गरी लुटपाट गरेको थियो ।

दुई जनाको साथमा खुकुरी र एकजनाको साथमा पेस्तोल रहेको थियो । सुमना पनि नोबेल अस्पतालकै रेकर्ड शाखामा कार्यरत कर्मचारी रहेको प्रहरीले नाएको छ । 

मृतक चौधरीबाट लुटेराको समूहले मोबाइल र पैसा लुटेर गलेका छन् । घटना पछि व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।