झापा । गत आर्थिक वर्ष २०७९र८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा रु २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजारभन्दा बढी छ ।
गत आवमा काँकडभिट्टा नाका भइ विभिन्न देशबाट रू ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार बराबरको सामान आयात भएको छ भने सोही अवधिमा सो नाकाबाट जम्मा रू २२ अर्ब चार करोड १८ लाख ९३ हजार बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस नाकामार्फत बङ्गलादेशबाट रू पाँच अर्ब ६५ करोड २० लाख ६५ हजारको सामान आयात भएको छ भने रू ४७ करोड ११ लाख ५३ हजारको सामान निर्यात भएको छ । विगत पाँच वर्षदेखि यस नाकाबाट हुने बङ्गलादेशसँगको व्यापार घाटा भएको छ । साथै समीक्षा अवधिमा भुटानसँग रू एक अर्ब ५६ करोड ८८ लाख ३० हजार बराबरको सामान आयात भएको छ भने रू ५२ करोड दुई लाख ३६ हजार बराबरको निर्यात भएको छ । सोही अवधिमा भारतबाट रू ३३ अर्ब १८ करोड ८७ लाख ५६ हजारको सामान आयात भएको छ भने रू १९ अर्ब ८१ करोड २३ लाख ७१ हजार बराबरको निर्यात भएको छ ।