धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राष्ट्रियस्तरको दुई दिने अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगिता  सम्पन्न भएकोछ । 

प्रतिष्ठानको सहयोगमा वीपी प्रतिष्ठान ब्लड डोनेसन कमिटी र विद्यार्थी कल्याण समाजको सहकार्यमा भएको प्रतियोगितामा देशभरीका ७ वटा मेडिकल कलेजहरुले सहभागीता जनाएका थिए । 

प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार चौथो संस्करणको सो प्रतियोगितामा वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, इन्स्टिच्यूट अफ मेडिसिन, महाराजगंज, काठमाडौं, मनिपाल कलेज अफ मेडिकल साइन्सेस, पोखरा, नोबेल मेडिकल कलेज, विराटनगर, यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा,  विराट मेडिकल कलेज, विराटनगर, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, काठमाडौं गरी ७ वटा मेडिकल कलेजका स्नातक तहमा अध्ययनरत तथा इन्टर्न डाक्टरहरुको ११ वटा समुहको सहभागीता रहेको थियो । 

प्रतियोगितामा वीपी प्रतिष्ठानको समुह ए ९त्भबm ब्० का दिवाकर कोइराला, करुण भट्टराई र आशिष बानिया“ले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, काठमाडौंका अनुपमा मरासिनी, पवन जैसवाल तथा युवराज अधिकारीले दोस्रो स्थान र नोबेल मेडिकल कलेज, बिराटनगरका सौरभ पौडेल, उमेश शाह, गौरव सिंह साउदले तेश्रो स्थान हासिल गर्नु भएको छ । 

उक्त प्रतियोगिताको निर्णायक मण्डलमा प्रा.डा.विष्णुहरि पौडेल, प्रा.डा.माधव लम्साल तथा डा.रबिन मास्के रहनुभएको थियो । डा. रिता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा डा.कुमुद चापागाईले कार्यक्रम संचालन गर्नुभएको थियो ।  

प्रतिष्ठानका परीक्षा डीन प्रा.डा.कृष्णा पोखरेलको प्रमुख आतिथ्यमा यही असार ३० गते प्रतियोगिताको समापन गरिएको आयोजकले जनाएको छ ।