मोरंग । नेपाल भारतको सीमा नाका विराटनगर जोगवनीमा कडाई गरिने भएको छ । विराटनगर महानगरपालिकाले सीमा नाका जोगवनी कडाई गर्ने भएको हो ।  भारतको जोगवनी बजारबाट उपभोग्य वस्तुहरु भित्रिरहँदा विराटनगर बजार सुनसान भएर व्यापारी पलायन हुन थालेपछि महानगरपालिकाले नाकामा कडाइ गर्ने भएको हो । 

जसअनुसार साउन १ गतेदेखि जोगवनी नाकाबाट कुनैपनि उपभोक्ताले एक रुपैयाँको सामान पनि भन्सार नतिरी ल्याउन नपाउने गरी कडाइ गरिने मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । स्थानीय बजारको प्रवर्द्धन गर्न, उपभोक्तालाई आफ्नै बजारमा सामान खरिद गर्ने बानी बसाल्न र राजश्व वृद्धिका लागि महानगरले यस्तो पहल गरेको हो । 

महानगरपालिकाको अभियानमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयलले सामूहिक ऐक्यबद्धता जनाएका छन् ।

सीमामा सुरक्षा निकायकै सहयोगमा सर्वसाधारणको नाममा तस्करी बढेको गुनासो बढेकै समयमा महानगरपालिकाले विराटनगरको व्यवशायीक सुरक्षा र विकासका लागि यस्तो निर्णय गरेको हो ।