डुम्रे /राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो । लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन । 

भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको अभावमा खण्डहर बनेको छ । भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गरे पनि नजिकैको तीर्थ हेला भनेझैँ सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चासो पुग्न सकेको छैन । 

आदिकवि भानुभक्तको जन्मघरको संरक्षण गर्न सके यहाँ आउने साहित्यिक पर्यटकका लागि अध्ययनको केन्द्र बन्न सक्छ । कुनै सरकारको चासो नहुँदा भानुको घर खण्डहर बनेको हो । देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि भानु भग्नावशेष घर देखेर निराश हुने गरेको स्थानीयवासी बताउँछन् । 

भानुको घर झारले ढाकेको, घरमा प्रयोग भएका काठका झ्याल, ढोका डढेलोले खाएको र रामायण भवन अलपत्र परेको देख्दा मन रोएको भानु–४ सेपाबगैँचाका मीनबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “भानु पिछडिएको छ, भानुभक्तकै नाममा विभिन्न फाइदा लिने गरेको भए पनि यहाँको विकासका लागि कुनै पनि पहल भएको छैन, यहाँ आवतजावत गर्नका लागि सहज सडक निर्माण गर्न नसक्दा यहाँ आउने पर्यटक तथा स्थानीयलाई सकस भएको छ, तर सहज बनाउने कार्यतर्फ चासो पुगेको छैन ।”