धरान /  विश्व नेपाली साहित्य महासङ्घको १४औं स्थापना दिवस तथा २१०औं भानुजयन्तीकोअवसरमा विश्वभर छरिएर रहेका नेपाली साहित्यानुरागीहरुको जमघट गराउने भएको छ । 

यही आउँदो जुलाई १४ तारिक शुक्रवार बेलुका नेपाली समय सात बजे जुम मिटिङ मार्फत  विश्वको विभिन्न मुलुकमा छरिएर रहनुभएका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको जमघट गराउन लागेको हो । सो कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा विश्वकवि तथा संस्कृतिविद् तुलसी दिवसले सम्बोधन गर्ने कार्यक्रम तय भएको विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले जानकारीदिनु भएको छ । 

उहाँका अनुसार उक्त कार्यक्रममा ६७ वर्ष अघिदेखि त्रिभुवन विश्वविद्यालयमा अध्ययपन हुने बसाइँ उपन्यासका लेखक वरिष्ठ साहित्यकार  लीलबहादुर क्षेत्री, रोमानियाका अवैतनिक महावाणिज्यदूत नवराज पोखरेल, चर्चित गायिका तथा अभिनेत्री प्राज्ञ कविता आले, नेपाल प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्मादेखि लीलाबोधी चिन्तक कृष्ण धरावासी हुँदै नयाँ पुस्तासम्मका लेखक साहित्यकारहरूको उपस्थिति रहने छ । 

त्यसैगरी प्राज्ञिक व्यक्तित्वहरूमा त्रिपुरा विश्वविद्यालय, भारतका कुलपति प्राडा गङ्गाप्रसाद प्रसाईं, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा अम्माराज जोशी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा जगमान गुरुङ, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीम खतिवडा, सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख प्राडा कविता लामा, काशी हिन्दू विश्वविद्यालय, भारतीय भाषा विभागका अध्यक्ष प्राडा दिवाकर प्रधान, बि‍ बरुवा कलेज गुवाहाटीकी विभाग प्रमुख प्राडा इन्दुप्रभादेवी, भानु प्रतिष्ठानका अध्यक्ष प्राडा व्रतराज आचार्य, त्रिचन्द्र कलेजका विभाग प्रमुख प्राडा गोविन्दमान सिंह कार्की, पद्मकन्या क्याम्पसका पूर्व विभाग प्रमुख प्राडा शैलेन्दुप्रकाश नेपाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगरका प्राडा वद्रीविशाल पोखरेल, मिसिगन विश्वविद्यालय अमेरिकाका प्राडा महेन्द्र लावती, जेएनपिजे कलेज लखनऊका प्राडा नलीन रञ्जन सिंह लगायत दर्जनौँ विद्वानहरूको उपस्थिति रहने छ । कार्यक्रममा डा मधु माधुर्य अमेरिका र विश्वासदीप तिगेला बेलायतलाई सम्मान गरिने कार्यक्रम पनि रहेको महासंघका अध्यक्ष लिम्बुले जानकारी दिनु भयो ।  कार्यक्रममा भानुभक्त आचार्यको चर्चा तथा सिर्जना वाचन कार्यक्रमहुने छ ।