विराटनगर  । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई आज नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।

 उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि विवादमा तानिए

कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि उनी विवादमा तानिनुभएको छ । 

सभामुख गौतमले थापालाई मुख्यमन्त्री बनाउन दलको सदस्यको हैसियतमा हस्ताक्षर गरेपछि उहाँ विवादमा तानिनुभएको हो । थापाले सभामुखसहित ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नु भएको छ । 

संविधानविद्हरुले पनि सरकार गठनमा सभामुख संलग्न हुने कुरा संविधान विपरीत भएको बताउँछन् । संविधानविद् डा.भीमार्जुन आचार्यले सभामुख कै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले नगरेको बताउनु भयो ।  सरकार बनाउन सभामुखले मत दिनु असंसदीय र असंवैधानिक भएको उहाँको भनाई छ ।

सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिए पनि कोशी प्रदेशका सभामुखले गरेको कार्य संसद्को अपहेलना भएको उहाँले बताउनु भएको छ ।