धरान ।पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई सफल पार्नको लागि श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपाल सुनसरीले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै निष्पक्ष रुपमा शुद्धिकरण गर्न आग्रह गरेको छ  । 

वुधबार प्रेस चौतारी सुनसरीले विज्ञप्ती जारी उक्त आग्रह गरेको हाे भने पत्रकार महासंघ सुनसरीका कार्यसमितिका केही व्यक्ति आफू निकटलाई जोगाउने र अरूलाई हटाउने लिस्ट बोकेर बल मिच्याइँ गरिरहेको आरोप लगाउँदै २४ घण्टाको अल्टिमेट पनि महासंघ सुनसरीलाई दिएको छ । 

हालै भइरहेको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा सुनसरीका कार्यसमिति सदस्य नै निकटलाई जोगाउने चलखेलमा लागेको प्रेस चौतारीले आरोप छ । 

केन्द्रको १५ बुँदे मापदण्ड अनुसार छाँटकाट हुनुपर्ने चौतारीको भनाइ छ । व्यापारी, कर्मचारी, निर्माण व्यवसायी, जग्गा व्यवसायी, शिक्षक, कर्मचारी, अध्यापक, औषधि व्यवसायीलाई महासंघमा सधैं फुलमाला लगाएर सदस्य राखी रहन आवश्यक नरहेको चौतारीले उल्लेख गरेको छ । 

‘पत्रकार महासंघको सदस्यता भजाएर सिंगो पत्रकारितालाई बदनाम गर्ने काम भइरहेको छ, यस अभियानले महासंघलाई शुद्ध पत्रकारहरूको संगठन बनाउने कुरामा हामी विश्वस्त छौं, चौतारीले विज्ञप्तिमार्फत् भनेको छ, ‘नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ सार्वजनिक गरेको छ, प्रत्येक जिल्लामा १५ बुँदे मापदण्ड पठाएको छ । यही मापदण्ड अनुसार शुद्धीकरण हुनु पर्छ ।’

प्रेस चौतारी नेपालमा आबद्ध भएर सक्रिय पत्रकारिता नगर्नेलाई सदस्यता त्यागको स्वघोषणा गर्न लगाइरहेको र गरिरहेको चौतारीले स्मरण गराएको छ । चौतारी सुनसरीको अध्यक्ष शुभद्रा प्याकुरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ,‘नेपाल पत्रकार महासंघ सुनसरी शुद्धीकरण अभियानमा  कार्यसमितिका केही व्यक्तिहरू आफू निकटकालाई जोगाउने र अरूलाई हटाउने लिस्ट बोकेर जुन बलमिच्याइँ गरिरहनु भएको छ, त्यसले महासंघको अभियान शुद्ध हुने हामीले ठानेका छैनौं,हामी चाहान्छौं, शुद्धीकरण निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनु पर्छ ।’

पत्रकार महासंघ सुनसरीले गर्न लागेको केन्द्रीय समितिको मापदण्ड विपरीत एक पक्षीय ढंगको शुद्धीकरण किमार्थ स्वीकार्य नरहेको चौतारीले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ । ‘शुद्धीकरणप्रति हामी पूर्ण सचेत रहेको बताउँदै चौतारीले नियमसंगत, आधार प्रमाण र तथ्यका आधारमा सुनसरी पत्रकार महासंघले सदस्यता शुद्धीकरण गर्न सकेन भने हामी त्यसको कडा प्रतिकार गर्छौं ।’ चौतारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।