विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका उप सभामुख सृजना दनुवार र एमाले कोशी प्रदेश संसदीय दलका उप नेता राम राना माथि भएको आक्रमणको विरोध  गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलले पहिचानवादीका नाममा उप सभामुख दनुवारलाई उदयपुरमा र उप नेता राना मगर माथि इलाममा भएको आक्रमण प्रति भर्त्सना गर्दै यस्ता कार्य नगर्न अनुरोध र आग्रह गरेको छ । 

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको भन्दै तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएकाे छ । 

समाजमा अमन चयन कायम गर्ने, शान्ति सुरक्षा कायम गर्ने सङ्घीय सरकारको दायित्व हो, एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले भन्नु भयाे, शान्ति सुरक्षा कायम गर्न सङ्घीय सरकार चुक्दै गएको देखिन्छ । 

 उहाँले प्रदेशको नामकरणलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्ताको टेबुलबाट समस्याको समाधान खोज्न समेत अनुरोध र आग्रह गर्नु भएकाे छ । 

एमाले कोशी प्रदेश संसदीय दलका नेता राम राना माथि इलामबाट विराटनगर फर्कने क्रममा इलाममा  र उप सभामुख दनुवारलाई उदयपुरको गाईघाटमा बिहीबार आक्रमण भएको छ । 

आक्रमणबाट दुवै जनालाई चोट नलागे पनि सवार गाडीमा भने क्षति पुगेको छ ।