धरान । सुनसरीको धरानमा मंगलबार दुई जना पत्रकार सहित तीन जनालाई मंगलवार सम्मान गरिएको छ । 

चलचित्र पत्रकार संघ सुनसरीले आयोजना गरेको तीन दिने चलचित्र पत्रकारिता कार्यशालाको समापन कार्यक्रममा लामो समयदेखि रंग पत्रकारिताको क्षेत्रमा योगदान पुर्याए वापत धरानका पत्रकार गोपाल दाहाल र रंग पत्रकारिता क्षेत्रमा उदयमान पत्रकार सुमित कार्कीलाई नगदसहित सम्मान गरिएको हो । 

ब्लाष्ट दैनिकका सम्पादक समेत रहेका दाहाललाई ६ हजार नगद र हार्ट एफ एम धरानमा कार्यरत कार्कीलाई ५ हजार नगद पुरस्कार सहित सम्मान गरिएको छ । त्यसै गरि संघले कलाकारिताको क्षेत्रमा योगदान पुर्याए वापत कलाकार शारदा शाक्यलाई पनि सम्मान गरेको छ  । समापन कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र वेघाले सम्मानित हुनेहरुलाई सम्मान पत्र सहित सम्मान गर्नु भएको हो । 

जेठ २१ गतेदेखि शुरु भएको चलचित्र पत्रकारिता कार्यशाला चलचित्र पत्रकार संघ सुनसरीको  आयोजानमा  चलचित्र विकास बोर्ड र धरान उपमहानगरपालिकाको सहयोगमा   सम्पन्न भएको हो । 

आयोजक चलचित्र पत्रकार संघ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माका अनुशार कार्यशाला अविधीभरी पत्रकारिताको  आचारसंहिता,सन्चार कानुन,फिल्म समीक्षा, डिजिटल पत्रकारिता,समाचार भर्सेस गसिप, फिल्म पत्रकारिता,फोटो र मल्टिमिडिया  लगायतको विषयमा प्रशिक्षण दिएको वताउनु भएको छ  । 

नेपाली चलचित्र तथा पत्रकारिता क्षेत्रमा दख्खल राख्ने निर्देशक भिषण राई,चलचित्र निर्देशक लक्ष्मण सुवेदी, चलचित्र पत्रकार विजय आवाज,शिक्षक रोनिश राउतलगायतले  प्रशिक्षण दिनु भएको थियो ।  

सुनसरीका विभिन्न सञ्चारमाध्यममा आवद्ध करिब दुई दर्जनभन्दा वढी पत्रकारहरुको कार्याशालामा सहभागिता थियो  भने समापन कार्यक्रममा कार्यशाला सपन्न गर्नको लागि  सहयोग गर्नेहरुलाई कदर–पत्रले सम्मानित गरिएको थियो ।