धरान । कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनरत पक्षले आज गर्ने भनेको आम हडताल कार्यक्रम फिर्ता लिएको छ । 

पक्राउ परेका आन्दोलनरत पक्षका नेता कार्यकर्ता रिहा भएपछि पहिचान पक्षधरले आज गर्ने भनेको आमहड्ताल भने फिर्ता लिएको किराँत राई यायोख्खा केन्द्रिय कार्य समितीका महासचिव भीम राईले वताउनु भयो । 

उहाँले भन्नु भयो,‘सरकारले हाम्रो मागको संवोधनको लागि वार्ताको पनि आवहान गर्यो,आज नै जेठ १४ गते पक्राउ परेकाहरु सवैलाई सरकारले रिहाई पनि गरेको छ,यसर्थ हामीले सरकार हाम्रो माग प्रति सकारात्मक भएको ठहर गर्दै आज गर्ने भनिएको आम हडताल कार्यक्रम फिर्ता लिएका हौं ।’ 

उहाँका अनुसार आज कोशी प्रदेशको राजधानी विराटनगरमा वृहत आमसभा गरिने आम सभा पश्चात भोलीदेखि कसरी जाने भन्ने कुरा वैठक वसेर तय गरिने भनाई छ । प्रदेशको नाम कोशी खारेजको माग राख्दै आन्दोलन गरिरहेको पहिचान पक्षलाई तीन महिनापछि कोशी प्रदेश सरकारले मंगलवार  वार्ताको आह्वान गरेको हो ।

कोशी प्रदेश सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौलाले विज्ञप्ति निकालेर वार्तामा आउन आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गर्नुभएको छ ।

गएको फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै पहिचान पक्षधरहरूले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् ।

फायल तस्वीर