काठमाण्डौ । नेपालले भारतलाई विद्युत निर्यात शुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारी अनुसार भारतमा विद्युत् निर्यात शुक्रवारदेखि सुरु गरेको हो ।
हिउँद याममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ६ सय मेगावाट विद्युत् भारत नेपालले पठाएको छ ।
शनिवार प्रसारण लाइन जाँचको लागि निर्यात बन्द गरेको र आइतबारदेखि पुनः नियमित निर्यात हुने जनाइएको छ । नेपालले केही अघिसम्म दैनिक ४ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा पछिल्ला केही दिन वर्षा भएकाले उत्पादन बढेर निर्यात गर्ने अवस्थामा पुगेको भट्टराईले बताउनुभयो । तर वर्षा रोकिएमा भने उत्पादन घटेर आयात गर्नुपर्ने अवस्था आउन पनि सक्ने उहाँको भनाइ छ ।
प्राधिकरणमा अनुसार हिजो झण्डै सात रुपैयाँप्रति युनिटका दरले निर्यात भएको छ ।