विराटनगर/ नेकपा एमालेका सचिव तथा प्रदेश नम्बर १ का सांसद भीम आचार्यले अबको मुद्दा आर्थिक समृद्धि रहेको बताएका छन् ।

विराटनगरमा आइतबार बसेको प्रदेश सभाको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका दाबेदार आचार्यले प्रदेशको विकासका लागि सत्ता र प्रतिपक्षी भन्न नहुनेमा पनि जोड दिए ।

‘अब हामी सबै मिलेर जानुपर्छ, आर्थिक समृद्धि अबको मुद्दा हुनुपर्छ, त्यसो गर्न सकेमा प्रदेश समृद्ध बन्ने पक्का छ’, उनले भने, ‘सत्ता पक्षले प्रतिपक्षसँग पनि मिलेर जानुपर्छ ।’

बैठकमा स्वतन्त्र सांसद नारायणबहादुर मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद विष्णु तुम्बाहाम्फे, राप्रपाकी सांसद इन्दिरा राई, संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादव, नेपाली कांग्रेसका सांसद इन्द्बहादुर आंगबो र माओवादी केद्रका सांसद चन्द्रप्रसाद श्रेष्ठले पनि बोलेका थिए ।

 जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले आगामी माघ २९ गते सभामुखको निर्वाचनको मिति तोक्दै बैठक सकिएको छ । देश १ प्रदेशसभाको सभामुख चयनका लागि माघ २९ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो ।
 
 
प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री र सभामुख दुबै एमालेको भागमा परेको छ ।

प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति पनि बनाएको छ ।