काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सवोच्च अदालतमा रिट निवेदन फेरी दर्ता भएको छ ।
वुधबार लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज माग गर्दै युवराज पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नु भएको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधवार दर्ता गर्दै जेठ १७ गते पेसी तोकेको छ । रिटमा लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा पुरानै नागरिकताको प्रतिलिपिमात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराउनु भएको अदालतका प्रवक्ता पौडेलले बताउनुभयो ।
यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उहाँको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो । पुरानो नागरिकता फेरि लिएपछि उहाँ उप–चुनावबाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनुभएको छ ।
अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि गएको माघमा उहाँले पुनः आफ्नो पुरानो नेपाली नागरिकता बिउँताउनुभएको थियो ।
पौडेलले नै यसअघि पनि लामिछानेविरुद्ध उहाँले नेपाली नागरिकता पुनः प्राप्ति नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो ।