धरान / किरात राईका अगुवाहरूले पहिचान विरुद्ध लोकतान्त्रिक प्रक्रिया मिचेर गरिएको प्रदेश १ को कोशी नाम विरुद्ध सङ्घर्ष जारी राख्ने उद्घोष गरेका छन् । 

किरात राई यायोख्खा सुनसरीद्वारा शनिवार आयोजित वृहत् जिल्लाव्यापी साकेला सिली प्रतियोगिताको समापनमा उनीहरुले यस्तो बताएका हुन । 

यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक प्रसाद राईले मुख्यमन्त्री हिक्मत कार्कीले गरेको नामाकरण एकल जाति, कौशिकी ऋषि गोत्रको नामबाट भएकोले कदापि स्वीकार नहुँने बताउदैं मानव सभ्यताको विकास पहिचानबाट मात्रै सम्भव हुने बताउनु भयो ।  

धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले सैबिधानले जनताको भावना र मर्म अनुरूप राज्यको नामाकरण गर्न प्रदत्त गरेको अधिकारलाई राज्यका उच्च पद धारण गरेको व्यक्तिले आफ्नो निहित स्वार्थका लागि  नामाकरण गरेको आरोप लगाउनु भयो । 

उक्त अवसरमा किरात राई प्राज्ञिक डा.जीवन कुमार राईलाई सम्मान गरिएको छ । यायोक्खा पूर्व केन्द्रीय अध्यक्ष तिलक राई, केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले किरात राज्यको माग गर्दै  पहिचान सहितको राज्यकोमात्र परिकल्पना गर्न सकिने बताउनु भएको थियो ।

sakela1

यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले उँधौलीपछिको आन्दोलन थप सशक्त भएर जाने उद्घोष गर्नु भएको थियो ।

कार्यक्रममा साकेला प्रतियोगीताको नतिजा पनि सार्वजनिक गरिएको थियो । सुनसरी जिल्लाका प्रारम्भिक समितिको शिलि प्रदर्शन उत्कृष्ट घोषित भएको थियो । यस्तै सहभागी मध्ये धरान ८ प्रथम, धरान ५ र ६ को संयुक्त टोली दोस्रो र धरान(२० तेस्रो भएको भएको घोषणा गरिएको छ । धरान बाहिरका प्रतियोगी इटहरी १,१९,२०को संयुक्त टोली प्रथम भएका छन् । इटहरी १७,१८ पकली दोस्रो इटहरी ५ र ६ तेस्रो भएको छ ।

उत्कृष्ट सांस्कृतिक झाकी सामग्री प्रदर्शनमा धरान १५ प्रथम, धरान १३ दोस्रो र धरान ९ र १० को टोली तेस्रो घोषित भएका छन् । धरान बाहिरबाट इटहरी ५ र ६ को संयुक्त टोली प्रथम, इटहरी वडा १,१९,२० संयुक्त टोली दोस्रो र इटहरी १७ र १८ संयुक्त टोली तेस्रो घोषित भएका छन् ।

१५ दिनसम्म चलेकाे  कार्यक्रममा पुराना स‌स्कृति झल्काउने सामाग्रीहरुसमेत प्रर्दशन गरिएकाे थियाे ।