धरान । धरानका पूर्व नगर प्रमुखहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफैं अप्ठयारोमा पर्ने दिन आउन सक्ने भएकाले वेलैमा सच्चिनको लागि सझुाव दिनु भएको छ ।  ।  

मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीले आयोजना गरेको प्रेस स्वतन्त्रता हनन् विरुद्ध पूर्व नगर प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रममा पूर्व नगर प्रमुखहरुले सच्चिएर धराने जनता र धरानको विकासको लागि अघि वढ्नु पर्ने सुझाव दिनु भएको हो । 

कार्यक्रममा तत्कालिन धरान नगरपालिकाका मेयर मनोज कुमार मेन्याङ्बोले श्रमदान अभियानको लागि आएको रकम पारदर्शिता नगरेको खण्डमा आउने दिनमा समस्या हुनु  वताउनु भयो । उहाँले भन्नु भयो,‘अभियान राम्रो हो तर अभियानको नाममा देश विदेशबाट आएको लाखौ रकमको हिसाव किताव पारदर्शिता नगरी नियम संगत नचल्दा भोलीको दिन मेयर साम्पाङ नै अप्ठुयारोमा पर्ने दिन आउँदैछ।’  

उहाँले आफु माथि अप्ठुयारो परिस्थिती आउने सक्ने भनेर आतिएर प्रेस  र पत्रकारमाथि आक्रोस पोख्न थालेको पनि वताउनु भएको छ । 

धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले प्रेस स्वतन्त्रता माथि नै मेयर साम्पाङले पटक–पटक धावा वोलेर आफ्नो खुट्टामा आफैं वन्चरो हानेको वताउनु भएको छ । 

उहाँले भन्नु भयो,‘पत्रकारले सकारात्मक र सुधारात्मक दुवै कुरा लेख्छन्,नेतृत्वलाई खवरदारी गर्छन तर पत्रकार कहिल्यै विरोधी हुँदैनन्,त्यसैले अहिले मेयर साम्पाङले पत्रकार माथि गरेको व्यवहारले सिंगो पत्रकारिता जगतलाई नै असर गरेको छ,यो प्रेस स्वतन्त्रामाथिको प्रहार हो।’

मेयर साम्पाङले मुलधारका पत्रकारलाई हेपेर युट्युबवरको पछि लागेर लोकप्रियता र प्रचारवाजी गरि  पत्रकारिता जगतलाई  भ्रममा पार्न खोजेको पनि बताउनु भएको छ । 

पूर्व नगर प्रमुख बम देवानले पत्रकारले गरेको खबरदारीलाई आत्मासाथ गरेर अघि वढे नेतृत्व जहिले सफल हुने धारणा राख्नु भएको थियो । उहाँले भन्नु भयो,‘पत्रकारले कडा विरोध र आलोचना गरे भनेर आत्तिनु हुँदैन,त्यही खवरदारी र आलोचनाबाटै नेतृत्व सफल हुने भएकाले सहकार्य र समन्वयको माध्यमबाट अघि वढ्नु पर्छ।¬’

पूर्व नगर प्रमुख कुमार कार्कीले पनि धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ भाइरल बन्दै अव भाइरस् वन्न थालेको वताउनु भएको  छ। अन्तक्रिया कार्यक्रममा भन्नु भयो,‘सामाजिक अभियानद्धारा उदाएको हर्क साम्पाङले एक्कासी धरानको नगरपिता हुने मौका पाए,तर साम्पाङको क्षमता भन्दा वढी नै जिम्मेवारी भएर पनि थेग्न नसकेको टिप्पणी मेरो छ र आरोलो यात्राको संकेत पनि हो ।’ 

कार्यक्रममा धरानमा विभिन्न काल खण्डमा मेयर वनेका ४ जना पूर्व मेयरहरूले सहभागि हुनु भएको थियो । उहाँहरु सवैको विचार भने धरान उमपहानगरपालिका मेयर साम्पाङले कार्यशैली र बोलीमा सुृधार ल्याएर अघि वढ्नु पर्नेमा जोड दिनु भएको थियो ।