धरान /  धरानमा दुई थान पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  धरान १७ डाँडा घोपाका २९ वर्षीय  हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान १५ सहिद मार्गका २४ वर्षीय रोहित राईलाई  इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्यादसमेत थप गरेको प्रहरीले जनाएको छ । 

कार्यालयका प्रमुख डिएसपी नवराज मल्लका अनुसार उनीहरुको साथबाट प्रहरीले मेड इन इटाली लेखेको स्वचालित पेस्तोल १ थान र विवरण उल्लेख नभएको पेस्तोल १ थान पेस्तोल बरामद गरेको छ । 

धरान १७ मा पेस्तोल लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले दिपकको घर नजिकै झाडीमा लुकाएको अवस्थामा पेस्तोल बरामद गरेको डिएसपी मल्लले जानकारी दिनु भयो ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले उक्त हतियार बरामद गरेको हो । सोमबार राती ९ः३० बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 हुकुमेनको घरमा ल्याएको पेस्तोल उनका भाइ दिपकले घर नजिकै झाडीमा लुकाएको भन्ने बयानका आधारमा प्रहरीले बरामद गरेको हो ।  उनीहरुसँग प्रारम्भिक सोधपुछका क्रममा धरान १५ का रोहितसँग पनि पेस्तोल रहेको खुले पछि रोहितको घरमा प्रहरीले छापा मारेको थियो । खानतलासी गर्ने क्रममा प्रहरीले डस्नामुनि लुकाएको अवस्थामा एक थान पेस्तोल बरामद भएको डिएसपी मल्लले जानकारी दिनु भयो ।

पक्राउ परेका उनीहरुमाथि  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजना सम्बन्धी कसूर अन्तर्गत कारवाहीको लागि अनुसन्धान भइरहेको छ ।