धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानका वडाध्यक्षहरुसँग माफी  माग्नु भएको छ ।

आज(आइतबार ) उपमहानगरपालिकाको कार्यपालिका वैठकमा  मेयरले माफी मागेपछि २ महिना अघि देखि वस्न नसकेको कार्यपालिका बैठक सुचारु भएकाे छ । वैठकमा नै मेयर साम्पाङले वडाध्यक्षहरुको राजीनामा मागेर जारी गरेकाे विज्ञप्ति पनि फिर्ता लिनु भएकाे  एक कार्यपालिका सदस्यले जानकारी दिनु भयाे ।

उहाँले वडा नम्बर १० का वडाध्यक्ष विवेक राईलाई मागेको स्पष्टिकरण पनि फिर्ता लिनु भएकाे छ । यस्तै स्वकीय सचिवले वडाध्यहरुलाई  काटेको पत्रका संवन्धमा पनि गल्ती भएको र  वडाध्यक्षहरुले ५ वुँदे मागलाई समेत पुरा गर्ने समेत प्रतिबद्धता व्यक्त  गरेपछि वैठक सुचारु भएको धरान उपमहानगरपालिकाका वडाध्यक्ष १५ तथा नेकपा एमाले धरानका संसदीय दलका नेता नरेश इवारामले वताउनु भयो । 

उहाँका अनुसार वैठकले संघ र प्रदेशको वजेट वडाले नै माग गरेर अघि बढ्ने निर्णयसमेत भएको छ । कार्यपालिका वैठकमा वडाध्यक्षहरु पनि आगामनी दिनमा इमान्दार र आवेग नआई अनुशासित भएर अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त व्यक्त्त गरेका छन् ।    

मेयर साम्पाङले धरानकाे सर्वाेपरिहिका लागि सबै मिलेर अगाडी बढ्नुकाे विकल्प नभएकाे बताउनु भएकाे छ । 

२०७९ साल चैत १ गते बसेको बैठकमा नगर प्रमुखका स्वकीय सचिव सुदर्शन लिम्बूले वडाध्यक्षहरुलाई पत्र काटेपछि विवाद वढेर गएको थियो ।

मेयर साम्पाङ बैठक आव्हान गरे पछि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बहिष्कार गर्दै आन्दोलनमा  थिए । 

मेयर साम्पाङ र उहाँका समर्थकहरुले वडाअध्यक्षहरुविरुद्ध गालीगलौज गर्दै सामाजिक सञ्जालमा आक्रमण गर्ने गरेका थिए भने राजनीतिक दलका कार्यकर्ताहरु पनि मेयर र उहाँका समर्थकहरुविरुद्ध खनिँदा धरानमा जटिलता उत्पन्न हुँदै गएको थियो ।