धरान / कोकाहाखोलाबाट धरानसम्म  खानेपानी  ल्याउन भैरहेको कोकाहा खानेपानी आयोजनामा  सहयोग पुर्याउने उद्देश्यले गत चैत २५ गते सम्पन्न भएको बृहत सांगीतिक कार्यक्रम च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरानबाट संकलन भएको रकम सोमबार हस्तान्तरण गरिएको छ। 

आयोजक सिल्भर इन्टरटेन्मेन्टले पत्रकार सम्मेलन गर्दै कन्सर्टको आयव्यय सार्वजनिक गदैं चेक हस्तान्तरण गरेको हो । उक्त कन्सर्टको सम्पूर्ण खर्च कटाएर २८ लाख ३६ हजार ३४५ रुपैया बाँकी रहेको  कार्यक्रम संयोजक मीना सिंगकले जानकारी दिनु भयो । सोही पत्रकार सम्मेलनमा उक्त रकम बराबरको डमी चेक आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ र संयोजक मिना सिंगकले मेयर हर्कराज राई (साम्पाङ)लाई हस्तान्तरण गर्नु भएको थियो । 

संयोजक सिंगकका अनुसार टिकट बिक्रीबाट १६ लाख ४६ हजार ८५६ रुपैया संकलन भएको थियो । जसमा कन्सर्टको दिन गेटबाट ३ सय दरको टिकट बिक्री हुँदा ६ लाख ४८ हजार रकम उठेको थियो भने प्रिसेल टिकट २ सय दरबाट ४ लाख ७८ हजार, ५ सय, १ हजार दरको टिकटबाट २ लाख ४६ हजार ५ सय र ३ सयको टिकटबाट १८ हजार रकम संकलन भएको थियो । यस्तै, एउटा पाइप बराबरको ७ हजार १२१ रुपैयाको टिकट बिक्रीबाट २ लाख ५६ हजार ३५६ रुपैया संकलन भएको थियो भने टिकट बाहेकबाट विभिन्न व्यक्ति तथा संस्थाहरुको आर्थिक सहयोगबाट १९ लाख ७१ हजार २१० रुपैया संकलन भएको थियो । सबै गरेर ३६ लाख  १८ हजार ६६ रुपैयाँ संकलन भएको र खर्चतर्फ भने कुल ७ लाख ८१ हजार ७२१ रुपैया भएको पनि संयोजक सिंगकले सार्वजनिक गर्नु भएको थियो । ।

मेयर साम्पाङले आयोजक, सहयोगी दाता, कलाकारहरु सबैलाई धन्यवाद दिनु भएको छ ।  सम्पूर्ण रकम कोकाहा  खानेपानी आयोजनामा खर्च गरिने र  चाडै धरानेजनताहरुले कोकाहाको पानी खान पाउने बताउँदै दैनिक भैरहेको कोकाहा श्रम अभियानमा संगलग्न हुन् हुन आव्हान समेत गर्नु भएको छ । 

    उक्त च्यारिटी कन्सर्टमा सहयोग गर्ने  सम्पूर्णलाई आयोजकले धन्यबाद पत्र  वितरण गरेको छ ।  गत चैत २५ गते सम्पन्न भएको कन्सर्टमा कलाकारहरु  दिप श्रेष्ठ, राजेश पायल राई,दिपक लिम्बु, प्रविशा अधिकारी, डिल्ली फोम्बो एंड द ब्याण्ड , द वाल्किंग क्लाउड ब्याण्ड , एकदेव लिम्बु, रोहित मास्के लगायतले निःशुल्क गाएर सहयोग गर्नु भएको थियो ।