धरान  / धरान उपमहानगरपालिकाका मेयर र कार्यपालिका सदस्यहरु विच भएको आन्तरिक खिचातानीका कारण विकास निर्माण तथा उद्योग, व्यवसायमा समेत प्रभाव परेको भन्दै उद्योग वाणिज्य संघ सुनसरीले ध्यानाकर्षण गराएको छ । 

कोरोना महामारी र बैंकको चर्को ब्याजदरका कारण शिथिल भएको उद्योग तथा व्यावसायिक क्षेत्रलाई तिनै तहको सरकार संवर्द्धन गर्नुपर्ने अवस्थामा बजेट बनाउनु पर्ने समयमा स्थानीय सरकार भित्रको आन्तरिक खिचातानी उचित नभएको संघले विज्ञप्ति जारी गरि ध्यानाकर्षण गराएको हो । 

उपमहानगरका जनप्रतिनिधि बिच वैचारिक मत विभाजन भई एक आपसमा दोषारोपण गर्न लाग्दा  बजेट बनाउनु पर्ने  समयमा बैठक नै बस्न नसक्नुले धरानको विकास अघोगतिमा धकलिएको संघका अध्यक्ष विजय श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ- ' जनप्रतिनिधिहरू दुई ध्रुवमा विभाजित भई द्वेषको भावना लिई एक आपसमा आरोप प्रत्यारोप गरी रहँदा जनप्रतिनिधिहरुलाई मात्र नभई समग्र उद्योगी व्यवसायीहरू धराने जनता र धरान नगरको विकासमा थप गम्भीर असर पर्न जाने निश्चित प्राय छ ।'

यस्तो परिस्थितिमा दुवै पक्षहरूले लचकता देखाई वार्ता र संवादको माध्यबाट समस्याको समाधान गर्न पर्ने संघले सुझाव दिएको छ ।

दुवै पक्षले मेरो गोरुको बाह्रै टक्का भन्ने मनोभावबाट मुक्त भई दम्भ त्यागी विधि प्रक्रिया बमोजिम अघि बढ्न संघले जनप्रतिनिधिहरूलाई आव्हान समेत गरेको छ । 

पछिल्लो समय धरान उपमहानगरपालिकामा मेयर हर्क सम्पाङ र वडाध्यक्ष बिच विवाद चर्कँदै जाँदा डेढ महिना देखि कार्यपालिका बैठक बस्न सकिरहेको छैन ।  बजेट बनाउने समयमा मेयर र कार्यपालिका सदस्यहरु विचको मनमुटावले आगामी बर्षको बजेट तथा कार्यक्रममा असर पर्ने देखिएको छ । मेयर, उपमेय, वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृतहरुको गैरजिम्मेवारीपनले धरानको विकास पछाडी धकेलिएको छ ।