जनकपुर / प्रदेश नम्बर २ को आज पहिलो बैठक जनकपुरमा सुरु  भइरहेकाे छ । ११ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।

बैठकको सुरुवातमै प्रदेश सभा हलमा मधेस आन्दोलनका शहीदको तस्बिर नराखेको भन्दै राजपाका सांसदहरुले केही बेर विवाद गरेका थिए ।

पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य लगनलाल चौधरीले निर्वाह गरिरहेका छन् । ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नं १ (क)का एमाले विधायक हुन् । अहिले संघीय फोरमका सांसद लालबाबु राउतले सम्बोधन गरिरहेकाे स्थानीय पत्रकार हरिश खुद्ारले जानकारी दिए । 

जनकपुरको कुवारामपुरस्थित शिक्षा कार्यालय तथा शिक्षक तालीम केन्द्रलाई बनाइएको प्रदेश सभा भवनमा बैठक बसिरहेको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, जनकपुरका इन्जिनियर महेश साहले सभाहलभित्र १७७ कुर्सीको व्यवस्था गरिएको जसमध्ये १०७ प्रदेश सभा सदस्य तथा ७० संसद् सचिवालयका कर्मचारी एवं अतिविशिष्ट पाहुनाका लागि छुट्याइएको बताए ।

सभाहलभित्र स्थान अभाव भएकाले प्रदेशसभाको ऐतिहासिक बैठक हेर्न आउने सर्वसाधारणका लागि भने प्रदेश सभा भवनअगाडि प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ ।

प्रदेश नं २ मा संघीय समाजवादी फोरम, राजपा, एमाले, काँग्रेस र माओवादी गरी पाँच राजनीतिक दलका नेताको प्रतिनिधित्व रहेको छ ।