धरान / कोशी प्रदेश लोकसेवा आयोग विराटनगरले धरान उपमहानगरपालिकाका कर्मचारीहरूको नियम विपरीत गरिएको स्तरवृद्धि (बढुवा) नियम विपरित भएको ठहर गदैं रद्द गरेको छ । 

धरान उपमहानगरपालिकाको २०७७ फागुन २१ गतेको नगरसभाले ३९ जना आन्तरिक कर्मचारीको स्तर वृद्धि गरेको थियो । आयोगले कर्मचारीको स्तरवृद्धि नियमसम्मत नभएकाले रद्द गरेको जनाएको छ । सो समयमा कानुन विपरित भनेर कुरा उठे पनि सम्बन्धित निकायमा उजुरी नपरेका कारण बढुवा प्रक्रियालाइृ नगरसभामा निर्णय गरेर कर्मचारीहरुले तदव भत्ता खादैं आएका थिए । 

कोशी प्रदेश लोकसेवा आयोग विराटनगरका सूचना अधिकारी केदारनाथ रिजालले नगरसभाको निर्णयबाट गरेको स्तरवृद्धि नीतिसम्मत नदेखिएकाले रद्द गर्न पत्राचार गरेको जानकारी दिनु भएको छ । कुनै पनि सरकारी निकायमा कर्मचारी नियुक्ति, सरुवा, बढुवा वा अन्य कुनै कार्यका लागि प्रदेश लोकसेवा आयोगसँग परामर्श लिनुपर्ने व्यवस्था छ । तर तत्कालिन मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीलगायत जनप्रतिनिधी, कर्मचारीहरुले परामर्श नलिई स्तरवृद्धिको निर्णय गरेका थिए ।

आयोग नियमावलीमा यस्ताे छ व्यवस्था

प्रदेश लोकसेवा आयोग नियमावली २०७७ को नियम ४१(१) मा स्थानीय सरकारी सेवाको कर्मचारीको सेवाको शर्तसम्बन्धी कानूनको विषयमा आयोगबाट परामर्श लिनुपर्ने प्रावधान रहेको छ । यस्तै नियम ४२ मा स्थानीय सरकारी सेवाको पदमा सरुवा वा बढुवा गर्दा उम्मेदवारको विषयमा आयोगमा परामर्श माग गर्नुपर्ने व्यवस्था छ । तर, नगरले प्रदेश लोकसेवा आयोगको परामर्श नलिई नगरसभाको निर्णयबाट स्तरवृद्धि गरेको थियो ।

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले नगरसभाले गरेको कर्मचारीको स्तरवृद्धि रद्द गर्न माघ महिना मै पत्र आएको बताउनु भएको छ । नगरसभाबाट स्तरवृद्धि गरेका कर्मचारीको पत्र अनुसार निर्णय गरेर पहिलेको अवस्था कायम गरी जानकारी गराउने पत्र प्राप्त भएको उनले बताए । यो पत्र अनुसार अव एक तह बढुवा भएका कर्मचारी पुनः घटुवा भईगरी पुरानै अवस्था कायम हुने छन् ।  २०७७ चैतदेखि लिएको सेवा सुविधासमेत फिर्ता गर्नु पर्ने हुन्छ । महालेखा परिक्षकले उक्त तलव भत्ताको बेरुजु देखाएको छ । ‘केही कर्मचारीहरुले लिएको सुविधा फिर्ता गरिसक्नु भएको छ । अन्य कर्मचारी साथीहरुले फिर्ता गर्ने प्रक्रियामा हुनुहुन्छ ।’–प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नु भयो–‘आयोगको परिपत्र कार्यन्वयन शुरु भएको छ ।’

नियम विपरित बढुवा हुने कर्मचारीहरु

धरान नगरका अधिकृतहरु गणेशप्रसाद खतिवडा, खगेन्द्रप्रसाद खतिवडा, सुरज श्रेष्ठ, रमेशकुमार साह, भेषराज अधिकारी, भक्तिराज शर्मा अधिकृत सातौैैैँबाट आठाँै तहमा बढुवा भएका थिए । त्यस्तै राजु पोखरेल, हस्तकुमार राई र भेषराज घिमिरेलाई अधिकृत छैठौँबाट अधिकृत सातौँमा बढुवा गरिएको थियो । रामकुमार राई, शैलेश शाक्य, नरेशकुमार चौधरी, इन्द्र बस्नेत, मदन श्रेष्ठ, नारायणप्रसाद राई, रन्जु भुजेल, भानुभक्त आचार्य, शिवचन्द्र चाम्लिङ, मनकुमारी राई, रमेश राई, चन्द्रा रेग्मी, राम पौडेल र रञ्जितकुमार साहलाई सहायक पाँचौंबाट अधिकृत छैठौँमा स्तरवृद्धि गरिएको थियो ।

राजकुमार डङ्गोल, तेजप्रसाद पोखरेल, मेनुका तामाङ र कञ्चनकुमार राईलाई सहायक चौथो तहबाट सहायक पाँचाँैमा स्तरवृद्धि गरिएको थियो । इन्द्रबहादुर सुब्बा, देवलकुमार राई, धनबहादुर लिम्बू, पुष्पाकुमारी मोते, विजय थापा मगर, विषन गुरुङ, सुरेश मग्राती, सूर्यप्रसाद अधिकारी, बुद्ध तामाङ, नवीन भुजेल र कुमार बुढाथोकीलाई सहायक तेस्रो तहबाट सहायक चौथोमा स्तरवृद्धि गरिएको थियो । भोलानाथ महतको सहायक दोस्रो तहबाट सहायक तेस्रो तहमा स्तर वृद्धि गरिएको थियो ।

महालेखा परीक्षकको प्रतिवेदनले स्तरवृद्धि गरेका कर्मचारीले लिएको तलब भत्तासमेत बेरुजू देखाएको छ । प्रतिवेदनमा स्तरवृद्धिको विषयमा कोशी प्रदेश लोकसेवा आयोग विराटनगरबाट परामर्श लिनुपर्नेमा नलिएकाले पालिकाले गरेको स्तरवृद्धि अनियमित देखिएको तथा निजहरूलाई भुक्तानी भएको स्तर वृद्धिको तलब भत्तासमेत अनियमित देखिएकोले सम्बन्धितबाट असुल गरी पालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने उल्लेख गरेको छ ।