विराटनगर  / कोशी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्रीअत्यावश्क सेवा केन्द्र निर्माण कार्यक्रमअन्तर्गत आइबार एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि  डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक माामिला मन्त्रालय र  स्थानीय  तहबीच संझौता भएको छ । 

जसमा झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवनलगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर आइबार पारित गरिएको हो । अर्जुनधार नगरपालिकाको वडा नं २ मा उक्तक्षेत्रका चारवटा पालिकाहरु अर्जुनधारा, कन्काई र विर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यस अघि नै आन्तरिक माामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच संझौता भएको थियो । 

त्यसैगरी मोरङको रङ्गेली नगरपालिकाको दर्वेशा र तेह्रथुमको आठराई गाउँपालिकाको वडा नं १ पुरानो बजारमा केन्द्र निर्माण गर्ने गरी सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीयतहहरु बीच संझौता भएको छ । रङ्गेलीमा निर्माण गरिने सेवा केन्द्रले दक्षिणपूर्वी मोरङका रङ्गेली सुनवर्षि, कानेपोखरी र धनपालथान गाँउपालिकालाई सेवा उपलब्ध गराउने छ भने  तेह्रथमको आठराईमा निर्माण गरिने सेवा केन्द्रले आठराई र फेदाव गाउँपालिकालाई सेवा उपलब्ध गराउने छ । सेवा केन्द्र निर्माणका लागि आवश्यक निर्देशिका समेत मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । 

पूर्वाधार निर्माणपछि सञ्चालनमा आउने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रबाट वारुणयन्त्र, एम्बुलेन्स र प्रहरी लगायतका सेवाहरु एकीकृत रुपमा उपलब्ध गराइने छ । विशेष गरेर स्थानीय तहहरुमा विपद् व्यवस्थापनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश सरकारले सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।