धरान / कोशी प्रदेश नामाङ्कन खारेजी, पुनः नामकरणको मागसहित आन्दोलनरत समुहले आज  धरान उपमहानगरपालिको मुलगेट सहित १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । एक विद्यालयको साइनबोर्ड समेत बन्चरोले काटिएको छ । 

‘कोशी प्रदेश’ लेखिएको कार्यालय छाप, लेटरप्याड कार्यालयमा फेला परे निकालेर जलाउँदै तालाबन्दी गरिएको छ ।  शुरुमा वडा नं १५ मा तालाबन्दी गरिएको थियो ।  प्रहरीले ताला ताेडे पनि पुन आएर अान्दाेलनकारी ताला लगाएका थिए । उनीहरुले कार्यालयका छापाहरु नियन्त्रणमा लिएर जलाएकाे वडाध्यक्ष नरेसकुमार इवारामले जानकारी  दिनु भयाे ।

धरान उपमहानगरपालिका कार्यालयमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको थियो । प्रदर्शनकारीले करिब एक घण्टा नाराबाजीका साथै मूल गेटमा कोण सभा पनि गरेका थिए । उनीहरूले मुख्यमन्त्री हिक्मत कार्की विरुद्ध नाराबाजी समेत गरेका थिए । 

यसअघि कार्यालयबाट कोशी प्रदेश लेखिएको छाप ल्याएर मूल गेट अगाडि जलाइएको थियो । कर्मचारीहरुलाई बाहिर निकालेर तालाबन्दी गरिएको थियो । 

प्रदर्शनकारीले किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीका झण्डा बोकेका थिए । 

 वडा ५ को हिमाली माविले नयाँ साइन बोर्ड बनाई ‘कोशी प्रदेश’ लेखिएको देखेपछि प्रदर्शकारीहरुले बन्चरोले साइन बोर्ड काटेर ध्वस्त बनाई दिएको स्थानीयले जनाएका छन् ।