धरान /   धरानका मेयर हर्क साम्पाङविरुद्ध आन्दोलनमा उत्रिएका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुसहित राजनीतिक दलहरुले धरान १५ स्थित चुम्लुङ हिममा धरान उपमहानगर भित्रका गतिविधीका सम्बन्धमा सचेतना कार्यक्रम गरिएकाे छ ।

पछिल्लो समय मेयर साम्पाङका स्वकीय सचिव सुर्दशन लिम्बुले वडामा सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको सुची पठाउन पत्राचार गरेपछि कार्यपालिका बैठकमा चर्को विरोध भएको थियो । मेयरले माफी माग्नु पर्ने कार्यपालिका सदस्यहरुले माग राखेका थिए ।  बैठक अघि बढ्न सक्ने अवस्था नभएपछि मेयरले स्थगित गर्नु परेको थियो । बैठकमा अमर्यादित अभिव्यक्ति दिएर बैठक भाँडेको आरोपमा वडा नं. १० का अध्यक्ष विय राईलाई मेयरले स्पष्टीकरण सोधे पछि कार्यपालिका सदस्यहरु थप आन्दोलित बन्दैं आएका छन् । 

 भेलामा पूर्वमेयर कुमारबहादुर कार्की, वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), नेकपा एमाले धरान उपमहानगरपालिकाका अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोखरेलले सम्बोधन गर्नु भएको छ । मेयर साम्पाङले विधि र प्रक्रिया विरुद्धमा गएर काम गरिरहेकोले बेथिती बढेको र त्यसलाई उजागर गर्न कार्यकर्ता भेला गरेको सहभागी नेताहरुले बताउनु भएको थियो ।  

 उपमहानगरको विधि विधान विपरीत क्रियाकलापमा सुधार गराउन धरानका क्रियाशील ७ राजनीतिक दलहरू, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरूसहितको सचेतना कार्यक्रम गरिएको हो । 

कार्यपालिकामै विवाद मिलाउन माफी माग्ने, सच्याउने सहित ५ सूत्रीय माग सहित २४ घण्टे अल्टिमेटम दिएका वडाध्यक्षहरूले माग पुरा नभएपछि राजनीतिक दलहरूसँग सहकार्य थालेका हुन ।   

राजनीतिक दलहरू र वडाध्यक्षहरूद्वारा मेयर हर्क साम्पाङको एकतन्त्रीय शासन पद्धति, दम्भ र विधि विधान विपरीतका कार्यहरूका बारेमा धरानवासीलाई सूचित गराउने अभियानका लागि वृहत् भेला गरिएको हो । 

भेलामा नगर प्रमुखले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरितका काम गरेको, पानी, बिजुलीलगायतका सिफारिसको अधिकार खोसेर आफ्नो टेबुलमा पु¥याएको, मेयरले एकतन्त्रीय शासन लागु गरेको आरोप लगाइएको छ । 

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मोहन तिगेलाको सभापतित्वमा भएको सचेतना कार्यक्रम जनता समाजवादीका नगर अध्यक्ष ताजुब लिम्बुले सञ्चालन गरेका थिए । भेलामा पार्टीका नेताहरू, २० वटै वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्यहरू र सातै वटै दलका वडा जिम्मेवार सदस्यहरूको उपस्थिति थियो ।

वडाअध्यक्षहरु हातमा कालोपट्टी बाँधेर मेयरको विरोध गरिरहेका छन् । भेलामा वडा नं. २०, ११ र १८ का वडाअध्यक्षहरु भने अनुउपस्थित हुनुहुन्थ्यो । नेपाली कांग्रेसबाट निवार्चित वडा नम्बर १८ का अध्यक्ष तथा नेपाली कांग्रेस धरानका उपसभापति नरेन्द्रकुमार राई (प्रविण), ११ कम वडाध्यक्ष लोकेन्द्र फागु, पदम लिम्लुलगायत भने भेलामा उपस्थित हुनु भएको थिएन ।