धरान। धरानमा सात राजनीतिक दलहरूले धरानका मेयर हर्कराज राई(साम्कोपाङ)काे स्वेच्छाचारी प्रवृत्ति बढेको भन्दै सच्चिन सुझाएका छन् ।

दलहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै कार्यशैली सच्चिन सुझाएका छन् । कार्यशैली नसच्याए मेयर विरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

उनीहरूले राईलाई माफी माग्न र जनप्रतिनिधि बीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

धरानका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त विज्ञप्ति जारी गरि यस्ताे आग्रह गरेका हुन् ।

दलहरूले मेयर राईका निजी सचिवालयका कर्मचारी मार्फत लेखिएको पत्र फिर्ता लिई सम्बन्धित महाशाखाबाट पत्राचार गरेर भुल सुधार गर्न र गल्ती ’रियलाइज’ गर्न तथा सेवाग्राही सन्तोष लिम्बूमाथि भएको घटनामा निजले माग गरेको सिफारिस दिई आत्मालोचना गर्न र वडाध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरण फिर्ता लिई आफूबाट भएको भूल स्वीकार गर्दै सम्पूर्ण जनप्रतिनिधिबीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

मेयर राईले विगतमा पनि पटक पटक वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई होच्याएर बोलेर र कार्यपालिका सदस्यहरूले राखेका विचारलाई तोडमोड गरी उत्तेजित गराउने र बैठकलाई अमर्यादित बनाउने गरिएको दलहरूले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।

'मयेर राईले केही युट्युब च्यानल तथा सञ्चार माध्यम प्रयोग गरी कार्यपालिका सदस्यहरूको विचारलाई काँटछाँट गरी अतिरञ्जित गराउने तथा प्रोपोगाण्डा गर्ने गरेको’ दलहरूले जनाएका छन्।

 राईको ’हर्क साम्पाङ ए रिभोलुसन’ नामक फेसबुक पेजमा विगतदेखि नै निरन्तर वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलहरु माथि झुटो, कपोकल्पित र भ्रामक विषयहरू पोष्ट गर्ने र आफ्ना फेक आइडी र फलोअर्सहरुवाट अशिष्ट, अमर्यादित र अश्लील गाली गलौच गर्ने गराउने गरेको तथ्य रहेको दलहरूले भनेका छन् ।

मेयर राईले प्रशासकीय अधिकृत गणेश खतिवडालाई आन्तरिक सरूवा गरेकाे र वडाध्यक्ष विवेक राईलाई कार्वही गरे पछि दलहरूले चासाे देखाएका छन् ।