विराटनगर  /  विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा आजदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । 

महोत्सवको पूर्व प्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गर्नु भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दैै तुम्वाहाङले महोत्सवले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने धारणा राख्नु भएको छ । उहाँले नेपाल र भारतबीच धार्मिक र साँंस्कृतिक सम्बन्धलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिनु भयो । समाज रुपान्तरणमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नु भएको छ ।  

विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धनमा महानगरपालिका लागि परेको बताउनु भयो । उहाँले भौतिक विकासले मात्रै समाजको समग्र विकास नहुने प्रस्ट पार्नु भयो । मेयर कोइरालाले विराटनगरलाई कोशीको प्रदेश मात्रै नभएर साहित्यिक राजधानीसमेत बनाउन आफू लागिपर्ने बताउनु भयो । “विराटनगर सातवटा प्रदेशमध्ये कोशी प्रदेशको राजधनी हो । अब यतिले मात्रै पुग्दैन यसलाई साहित्यिक र सांस्कृतिक राजधानी पनि बनाउनुपर्छ,” उहाँले भन्नु भयो । 

अग्रज साहित्यकार प्राज्ञ दधिराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले भाषा र साहित्यका माध्यमबाट विराटनगरलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सकिने बताउनु भयो ।  कार्यक्रममा प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीका अध्यक्ष डा. विजय पण्डित, कार्यक्रम संयोजक देवी पन्थी, साहित्यकार मीनकुमार नवोदित, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, साहित्यकार गोकुल अधिकारीलगायतले नेपाल–भारत साहित्य महोत्सवले दुई देशबीच सम्बन्धलाई थप बलियो बनाउने विचार राख्नु भएको थियो । 

विराटनगर ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनमा सुरु महोत्सवमा भारतबाट ६० र नेपालबाट २ सयभन्दा बढी साहित्यकारको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । महोत्सवमा ‘नेपाल–भारत साहित्यिक, सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक महत्व’, विराटनगरको ऐतिहासिक महत्व तथा महाभारतकालदेखिको सम्बन्ध’, बहुभाषी कवि सम्मेलन हुनेछ । त्यस्तै साहित्यिक÷सामाजिक परिचर्चा, पर्यावरण विमर्शका साथै गजल, जारु वाचनसमेत हुने पण्डितले जानकारी दिनुभयो । विराटनगर घोषणापत्र जारी गर्दै चैत ५ गते महोत्सव समापन हुनेछ । विराटनगरमा जारी महोत्सव सातौं हो ।  यसअघि मेरठ अकाडेमीले वीरगञ्ज र काठमाडौंमा नेपाल–भारत साहित्य महोत्सव गरेको थियो । नेपालमा चार र भारतमा तीनपटक महोत्सव भइसकेको छ ।