धरान  / धनकुटाको सिंधुवाबाट तेह्रथुमको छथर गाउँपालिकाको ओख्रे जोड्ने १६ किलोमिटर सडक ३० बर्ष अघि नै खनिएको थियो । ३ण् बर्षसम्म यहाँका जनताले निकै सास्ती खेपेर नजिकको बजार सिंधुवासम्म आउने गरेका थिए । हिउँदमा धुलो र बर्षायममा हिलो सहदैं सिंधुवाबजार धाए । 

बल्ल ३० बर्ष पछि भने त्यो सास्तीबाट यहाँका स्थानीयवासी मुक्त भएका छन् । यति बेला कालोपत्रको अन्तिम चरणमा छ । सडक खन्न सुरु गरेको ३० वर्षपछि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कालोपत्र थालिएको हो ।

स्वच्छन्द ओएसीस बन्धन भगवती भेजी निर्माण सेवाले ८२ करोड रुपैयाँ लगानीमा २०७६ मा स्तरोन्नतिसहित कालोपत्र सुरु गरेको थियो । एक महिनाभित्रै कालोपत्र सक्ने निर्माण कम्पनीका ईन्जिनियर मिनराज तामाङले बताउनु भएको छ । कोशी राजमार्गसँग जोडिएको उक्त सडक कालोपत्रे भएपछि स्थानीयले सास्तीबाट मुक्ति पाउने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताउनु भएको छ । अव जनताको सास्ती सकिएको उहाँले बताउनु भयो । 

छथर गाउँपालिका केन्द्र शुक्रबारे बजार हुँदै सरमुकाम म्याङलुङसमेत जोड्ने छोटो दूरीको यो सडकबाट छिमेकी धनकुटा र पाँचथरवासीलाई समेत पूर्वी तराई ओहोरदोहोरमा सहज हुनेछ । यो सडक खण्ड कालोपत्र हुन थालेपछि पूर्वी तराईका सहरबजारबाट आउने सवारी समेत बढेको स्थानीय उमेश पोखरेलले बताउनु भयो । 

सडक पूर्वाधार र अन्य सेवा सुविधा नभएको भन्दै छथर गाउँपालिकासहित आसपासका क्षेत्रमा बसाइँसराइ बढेको थियो ।