काठमाडौं  /  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा ९एमाले०का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।

    नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी हुनुहुन्थ्यो ।      यसअघि उक्त पार्टीको सचिवालयको आजको बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

रास्वपाको सरकारलाई दिएको समर्थन कायमै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकले उपयुक्त समय नआउञ्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा ९एमाले० र नेपाली कांग्रेस दुवै दलले सहयोग गर्न आग्रह गरे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिएको छैन ।