धरान  / धरानको सडक साँगुरो र सवारीको चाप बढे पछि धरानको मुख्य बजार क्षेत्रमा सोमबारदेखि यातायातलाई वान वे (एकतर्फी) नियम लागु गरिएको छ ।

 भानुचोकदेखि उत्तर लक्ष्मीचोकसम्म सवारीसाधनहरु एकतर्फी जान मात्र पाउनेछन् भने उत्तर पहाडी क्षेत्रबाट आएको सवारीसाधनहरु लक्ष्मीचोकदेखि पृथ्वीचोक, सिंहदेवी, माछाभौडी,देशीलाइन हुदै भानुचोक आउन पाउने व्यवस्थापन गरिएको छ । 

उपमहानगरपालिकाको पहलमा एकतफी  नियम लगाइएको हो ।  मेयर हर्क साम्पाङले दुर्घटना र भिडभाड कम गर्ने उद्देश्यले वान वे शुरु गरिएको बताउनु भएको छ । भानुचोक र बजार आसपासमा सवारीसाधनको अत्यधिक चाप बढेको छ । जताभावी सवारी साधानको आगमनले शहरको सौन्दर्यता नै हराए पछि वान वे व्यवस्थापन गरिएको २ नं. वडाका वडाधयष रमेश राईले जानकारी दिनु भयो ।  वन वे प्रणाली लागु गरिए पछि भानुचोको भीड कम भएको छ । 

यस अघि तिलक राई मेयर हुदा सार्वजनिक बसलाई वन वे गरिएको थियो ।

२०४१ सालमा पनि वन वे प्रणाली थियो 

धरानको भानुचोकदेखि लक्ष्मीचोकसम्मको ‘वन वे (एकतर्फी)’ सडकमा २०४१ सालदेखि एकतर्फी सडक लागू भएको थियो । २०४० साल चैत २९ गते सुनसरीको धरानमा जिल्ला तहको ट्राफिक प्रहरी कार्यालय बस्ने काठमाडौँको तोक आदेशपश्चात् धरानमा ट्राफिक प्रहरी कार्यालय सुरु भएको थियो । तत्कालै धरानको व्यवस्थापनका लागि प्रहरीले हालको महेन्द्र पथको बाटोमा धरान नगर पञ्चायत, यातायात व्यवसायी र नेपाल प्रहरीको अञ्चल प्रहरी कार्यालयको समन्वयमा एकातर्फी सडक बनाइएको जानकारहरु बताउछन् ।  ४ बर्षसम्म चले पनि २०४५ साल भदौ ५ गतेको भूइँचालोले सडक भत्काए पछि एकतर्फी प्रणाली तोडिएको थियो ।