दाङ । लुम्बिनी प्रदेशका विनाविभागिय मन्त्री कृष्णा केसी(नमुना)ले मन्त्री पदबाट राजीनामा दिएकी छन् । मन्त्री केसीले मुख्यमन्त्री लिला गिरीलाई राजीनामा बुझाएकी हुन् । मन्त्री भएको लामो समयसम्म पनि कुनै जिम्मेवारी नपाएको भन्दै मन्त्री केसीले राजीनामा बुझाएकी हुन् ।‘लामो समयदेखि जिम्मेवारी नपाउने, पार्टीको भूमिका प्रति आपत्ति जनाउँदै मन्त्रीज्यूले राजीनामा दिनुभएको हो”, स्रोतले भन्यो । 

केसी बाँके क्षेत्र नं.१(क)बाट निर्वाचित हुन् । पुस २७ गते केसीले मन्त्रीको सफत लिएकी थिइन् । तर, एक महिनासम्म पनि विनबिभागिय भएपछि राजीनामा दिएको स्रोतले बताएको छ । मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री भएका थिए । तर, भागबण्डा नमिलेपछि मन्त्रीको जिम्मेवारी प्रदान गरिएको थिएन् । 

मुख्यमन्त्री गिरीले आईतबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका थिए । 

पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए ।

मुख्यमन्त्री पाएको नेकपा एमालेले माओवादी केन्द्रलाई अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्रालय दिन तयार भएपछि सहमति जुटेको थियो । माओवादीले कुल ३ मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले एक÷एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन सहमत भएपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको हो ।

लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्री बनाउने निर्णय भएको छ । लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा सहकारी गरी १० मन्त्रालय रहेका छन् ।  यसअघि १३ मन्त्रालय थिए ।