धरान / धरान उपमहानगरपालिकाले  वडा नं. ५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको  छ ।

धरान-५ को खार खोला र अधेरी खोलाको सङ्गम स्थलमा बनेको एक तलले पक्की घरनगर प्रहरी आइतबार भत्काएको हो ।  धरान उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातिय रङ्गशाला बनाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा घर नबनाउन उपमहानगरले भने पनि अटेर गरेर बनाए पछि भत्काइएको उपमहानगरले जनाएको छ । उक्त घर मुना चौधरी लिम्बुले बनाइएको बताइएको छ । घर भतकाउन उपमहानगरले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो । 

घर भत्काउने क्रममा दोहोरो झडप समेत भएको प्रहरीले जनाएको छ । दोहोरो झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् । धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातिय रङ्गशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास बस्न थालेकोले र पटक पटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण सम्पन्न गरेकोले भत्काउनु परेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिनु भएको छ । 

पूर्व वडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीय विरोधमा समेत उत्रिएका थिए । पहिला देखि नै सो जग्गाको भोगचलन गर्दै आएको भन्दै पूर्व वडाध्यक्ष लिम्बूले खोलाको भाग सीमांकन गर्नुपर्ने पनि माग राख्नु भएको थियो । यसअघि पनि प्रहरी सो स्थानमा सो संरचना भत्काउन पुगेको थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।

उपनगरपालिकाले अवैध रूपमा अतिक्रमण गरेर घर नबनाउन भन्दै गत पुस १२ गते एक हप्ते सूचना टाँसेर फर्किए पनि अटेर गरेर घर बनाएपछि पुस २९ गते भत्काउन भनेर डोजरसहित नगर प्रहरीको टोली त्यहाँ पुगेको थियो । तर, घर भत्काउने आदेशको माग गर्दै स्थानीयले विरोध गरेपछि त्यहाँबाट फर्किएको थियो । 

धरान उपमहानगरका मेयर हर्कराज राईले फेसबुकबाटै खोलाखोली छेऊछाऊ जग्गा  किनबेच गर्नेहरुको नाम दिन आग्रह गर्नुभएको छ । खोला किनारा र सरकारी जग्गामा बनाइएका सबै घर टहरा भत्काइने उहाँले नगरवासीलाई जनाउ दिनु भएको छ ।