विराटनगर  / प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले आज नेपाल पत्रकार महासंघ प्रदेश १ को टोलीसँग भएको भेटमा हाल बिनाविभागीय रहनुभएका मन्त्रीले सोमबारदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुहुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बिनाविभागीय मन्त्रीका रूपमा रहेका सबै मन्त्रीले सोमबारबाट सम्बन्धित मन्त्रालयबाट कार्य सुरु गर्नुहुने छ ।” मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठकले हाल कायम रहेको मन्त्रालयको सङ्ख्या घटाउने निर्णयानुसार अहिले मन्त्रालयको नामलाई अन्तिम रूप दिने काम भइरहेको बताउनुभयो ।

उहाँले मन्त्रालय घटे पनि पनि चालु आर्थिक वर्षको मन्त्रालयगत बजेटमा कुनै समस्या नहुने विचार व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले सबै मन्त्रालयको जिम्मेवारी लिनुभएको छ भने सात जना मन्त्री बिनाविभागीय हुनुहुन्छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल १३ मन्त्रालय रहेका छन् । १३ बाट घटाएर ९ वटा मन्त्रालय बनाउने तयारी रहेको छ ।