धरान / मोफसलको अन्र्तराष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगिता बुढा सुब्बा गाेल्डकप फुटवल प्रतियोगिताको २३ औं संस्करण यही फागुन दोश्रो सातादेखि हुने भएको छ । २०७६ सालमा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन। यो बर्षको फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकबले जनाएको छ ।
कोरोना महामारीले भएको आर्थिक मन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिनु भएको छ । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले आइतबार फुलवारी बहस कार्यक्रममा अन्र्तवार्ता दिदैं जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रतियोगितामा सदा झै ८ वटा ए डिभिजन क्लवहरुले सहभागिता जनाउने छन् । काठमाडौका २ वटा, पोखराको एक टिम, भारतको २ टिम र प्रदेश १ बाट आयोजकसहित ३ वटा क्लवका स्तरिय टिमहरुले सहभागिता जनाउने तय भएको अध्यक्ष राईले जानकारी दिनु भएको छ ।
एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको क्लवले जनाएको छ । दुई बर्ष देखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालाहरुसँग छलफल सुरु गरिएको अध्यक्ष राईले जानकारी दिनु भएको छ । आर्थिक अभावले २२ औं संस्करणको बााकी बक्यौता पनि मिलाउने काम भइरहेको आयोजकले जनाएको छ । अध्यक्ष राईले २३ औं संस्करण भव्य समापन गरेर क्लवको नेतृत्व पनि हस्तानतरण गर्ने तयारी गरेको जानकारी गराउनु भएको छ ।
२२ औँ संस्करण २०७६ फागुनमा भएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मर्साङदी क्लव काठमाडौं विजयी भएको थियो ।