इनरुवा  / सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ । पहिचान नखुलेको व्यक्तिले घाँटी बटारेर कोसी–२ का देवराम यादवको १६ वर्षीय छोरा रञ्जीतकुमार  यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । 

किशोरको शव बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसोदेखि एकाएक घरबाट लौकही गएको र हराएका किशोर रञ्जीतको शव आज स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर नै फालिएको हुनसक्ने प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 

घटनाको अनुसन्धानमा प्रहरीले कुकुर परिचालन गरेको र थप अनुसन्धान जारी रहेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले काम थालेको प्रहरीले जनाएको छ ।