काठमाडौं/ नियमविपरीत ब्याज बढाई ग्राहाकसँग असुलेको रकम बैकहरुले यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले २५ वाणिज्य बैंकलाई नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको चार अर्ब ६६ करोड रुपैयाँ पुस महिनाभित्र फिर्ता गरिसक्न निर्देशन दिएको थियो । 

त्यसपछि बैंकहरुले आफूले उठाएको पैसा ऋणीको खातामा पठाउने भएका छन् । केही बैकहरुलेले पठाउन थालिसकेका छन् । सम्बन्धित बैंकको शाखामा सम्पर्क गरेर ऋणीले आफूले नियमविपरीत बुझाएको पैसा फिर्ता लिन सक्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेल बताउँनु भयो । 

पोखरेलका अनुसार बैंकहरुले यसरी उठाएको पैसा पुस मसान्तसम्म फिर्ता गर्ने प्रतिवद्धता नेपाल राष्ट्र बैंकसमक्ष गरिसकेका छन्। 

यस्तै, राष्ट्र बैंकले बैंकहरुलाई वार्षिक साधारण सभा गर्नका लागि बाटो खुला गरिदिएको छ।  नेपाल राष्ट्र बैंकले यसअघि बैंकहरुले नियमविपरीत असुल गरेको पैसा फिर्ता नगरेसम्म बैंकहरुको साधारण सभा रोकिने जानकारी दिएको थियो।

नियमविपरित रकम असुल गर्ने बैकहरु  

यस्तो रकम सबैभन्दा धेरै असुल गर्ने पहिलो बैंक एनआईसी एसिया बैंक रहेको छ। यस बैंकले ऋणीबाट नियमविपरीत ४८ करोड रुपैयाँ बराबरको रकम असुल गरेको नेपाल राष्ट्र बैंक श्रोतले जानकारी दियो। 

यसैगरी, नबिल बैंकले ऋणीलाई ४७ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने छ। ग्लोबल आइएमई बैंकले ४५ करोड, सिद्धार्थ बैंकले ३३ करोड, बैंक अफ काठमाण्डूले ३६ करोड, प्राइम कमर्सियल बैंकले २६ करोड, राष्ट्रिय वाणिज्य बैंकले २५ करोड रुपैयाँ रमक फिर्ता गर्नुपर्ने देखिएको राष्ट्र बैंक श्रोतको दाबी छ। 

यसैगरी, कुमारी बैंकले २० करोड ब्याज फिर्ता गर्नुपर्ने भएको छ । सनराइज बैंकले १९ करोड, एनएमबि बैंकले १६ करोड, नेपाल बैंक, प्रभु बैंक १५ र एभरेष्ट बैंकले १५ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने छ। 

लक्ष्मी बैंकले १३ करोड, हिमालयन बैंकले १२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १२ करोड, सिटिजन्स बैंकले १२ करोड, मेगा र सिभिल बैंकले ११ करोड, सानिमा बैंकले ११ करोड, एनसीसी बैंकले ९ करोड, सेञ्चुरी बैंकले ७ करोड र नेपाल एसबीआई बैंकले ७ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने छ।