विराटनगर /  तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्बासी समस्या समाधान गर्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा मंगलबार आयोजित कार्यक्रममा वक्ताहरुले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यले सुकुम्बासी समस्या समाधान गर्न सकिने धारणा राखे । 

विराटनगर आवास परियोजनाअन्तर्गत विराटनगर–१२ को मलंवामा सुकुम्बासीका लागि घरहरु निर्माण भइरहेका छन् । आवास परियोजनाको साझेदार संस्था ह्याविट्याट फर ह्युमानिटी नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले महानगरलाई सुकुम्बासीरहित बनाउन सके दक्षिण एसियामै नमुना हुने दाबी गर्नु भयो । 

उहाँले सम्पन्न वस्ती महानगरको महत्वपूर्ण परियोजना भएकाले समयमै सक्नुपर्नेमा जोड दिनु । “यो परियोजनामा जसजसले सहयोग गरे पनि यसको सम्पूर्ण श्रेय र जस महानगरलाई नै जान्छ,” कार्कीले भन्नु भयोे, “तीनै तहको सरकारबीच सहकार्य भए महानगरलाई मात्रै होइन प्रदेश–१ नै सुकुम्बासीरहित बनाउन सकिन्छ ।” 

विराटनगर महानगरका मेयर नागेश कोइरालाले तीनै तहको सरकारबीच समन्वय र सहकार्यबाट विराटनगरलाई सुकुम्बासी रहित महानगर बनाउने उद्घोष गर्नु भयो । उहाँले आफूले ५ वर्षमा १४ हजार सुकुम्बासीको व्यवस्थापन गर्ने लक्ष्य राखेको बताउनु भयो । “मैले चुनावताका पनि सुकुम्बासी समस्या समाधान गर्छु भनेको थिएँ,” मेयर कोइरालाले भन्नु भयो, “यो वस्तीमा करिब ३ सयको व्यवस्थापन होला अझै मैले १३ हजार ७ सयका लागि घर निर्माण गर्नुछ ।” 

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले ह्याविट्याटले आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा सम्पन्न बस्तीका घरमा एउटै रंग लगाउने अभियान सञ्चालन गरेर उदाहरण कार्य गरेको बताउनु भयो ।

सन् २०२१ जनवरीदेखि सुरु भएको परियोजना अन्तर्गत सो ठाउँमा १४५ वटा घर निर्माण हुनेछ । घर निर्माणका लागि महानगरपालिका, प्रदेश सांसद कोष, ह्याविट्याट र उपभोक्ताको आर्थिक लगानी तथा सहारा नेपालको प्राविधिक सहयोग रहेको छ । प्रतिपरिवार १० धुर जग्गामा घर निर्माण भइरहेको छ । एउटा घर निर्माणमा ५ लाख १० हजार लाग्ने लगत स्टिमेटमा उल्लेख छ । हालसम्म ९७ लाखमा उपभोक्ता (क) र  ४४ लाखको लागतमा उपभोक्ता (ग) को निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै ८७ लाख रुपैयाँको लागतमा उपभोक्ता (ख) को निर्माण जारी रहेको छ । वार्षिकोत्सवका अवसरमा निर्माण सम्पन्न भएका घरहरुमा रंग लगाइएको थियो । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामत, गैसस प्रदेश–१ का अध्यक्ष लखनलाल साह, सामाजिक विकास महाशाखा प्रमुख राजेन्द्र प्रधानलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।