धरान / धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गरि मारेको आरोपमा प्रहरीले स्थानीय  ४ जना महिलाहरुलाई पक्राउ गरि सार्वजनिक गरेको छ । 

 पक्राउ परेका चारै जनालाई मंगलबार इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंसिर १३ गते मृत्यु भएपछि मृतकका भाई सुन्दर राईले ७ जना विरुद्ध किटानी जाहेरी दिनु भएको थियो । सोही जाहेरीको आधारमा ४ जना पक्राउ गरिएको र अन्यको खोजी भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई रहनु भएको छ । उहाँलाइ प्रहरीले मंसिर १५ गते पक्राउ गरेको थियो । यस्तै, मंसिर १६ गते २६ बर्षीया सुमित्रा राई र धरान १७ की २९ बर्षीया सुसेली राईलाई पक्राउ गरेर अदालतबाट ९ दिनको म्याद थप  गरिएको प्रहरीले जनाएको छ । अर्की ४० बर्षीया रत्न लिम्बु सुब्बालाई मंसिर १८ गते पक्राउ गरेर ७ दिनको म्याद थप गरि अनुसनधान थालिएको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।  

 उक्त घटनामा स्थानीय सिर्जना राई, मिना राई र नीरकुमारी गुरुङको पनि संलग्नता दावी गदैं प्रहरीमा जाहेरी परेको छ । उनीहरु फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । 

आफ्नो पतिसँग नजिकिएको आरोप लगाउँदै गत कात्तिक ३ गते उर्मिला राई नेतृत्वको आमा समूहकै सदस्यहरु मिलेर उषामाथि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट सख्त घाइते बनेकी उषालाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । सोही समय उपचार खर्च दिने सहमति पनि भएको थियो । तर पुन विरामीभइ प्रतिष्ठानमा भर्ना गरिएको केही दिनमा उहाँको मृत्यु भएको थियो । । उषालाई आमा समूहले कुटपिट गर्नुका साथै अखाद्य तरल पदार्थसमेत खुवाएका कारण स्वास्थ्यमा समस्या भई मृत्यु भएको उनकापरिवारले दावी गदैं आउनु भएको छ ।

मृतक राईका २ छोरी छन् । उनीहरुको उचित गाँस, बास र कपासको साथै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न महिला संगठनहरुले समेत माग गर्दै विभिन्न धर्ना, नाराजुलुसका कार्यक्रम पनि गर्दै आएका छन् । दोषीलाई कडा कारवाही गर्न उनीहरुले माग गदैं आएका छन् । धनकुटा घर भई उषा धरान–१३ मा भाडामा बस्दैं आउनु भएको थियो । उहाँले सिलाईकटाइको काम गरेर छोरीहरु पाल्दैं आउनु भएको थियो । उहाँको श्रीमान् भने यस अघि नै मृत्यु भएको उहाँको परिवारले जनाएको छ ।