धरान / नेपालके सबै भन्दा बढि धावकहरु एकै समय दौडने ११ औं धरान १० के रन नेवा च्यारिटी आगामी फागुन १३ गते हुने भएको छ । 

 धरान रन समुहले शुक्रबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको ११ औं सँस्करण आयोजनाबारे जानकारी दिएको छ । स यो सँस्करणमा बिबिसी सेफका विजेता सन्तोष साह प्रमुख धावकको रुपमा आउने आयोजक धरान रनका अध्यक्ष रमु राईले जानकारी दिनु भयो । 

 आयोजकले यसपाली पहिलो पटक दौडमा चिप टाइमिङ सिस्टम प्रयोगमा ल्याउने पनि जानकारी दिएको छ । प्रत्येक धावक धाविकाहरुलाई चेस्ट नम्बरमा चिप लगाएर समय मापन गरिने अध्यक्ष राईले बताउनु भयो । यसले कोही पनि दौडको बीचमा फास्ट ट्रयाकबाट दौडन नसक्ने र सही टाइमिङ देखिने उहाँले बताउनु भयो । ह्विलचियर र १३ बर्ष मुनिकाबाहेक अन्य उमेर समुहका सहभागीहरुलाई चिप लगाउने तयारी छ । पेपरलेस बनाउने उद्देश्यले इ सेवासँग समन्वय गरेर अनलाइन फर्म भर्ने पनि व्यवस्था गरिएको छ ।

 प्रतियोगितामा १६ देखि ३९ बर्षसम्मका खुल्ला दौड समुहतर्फ महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ६० हजार, ४० हजार र ३० हजार दिइनेछ । १३ बर्षमुनिकालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइनेछ । १३ देखि १६ बर्षभित्रकाहरुलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइनेछ भने ४० बर्षमाथिका भेट्रान समुहका विजेताहरुलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइने उहाँले जानकारी दिनु भयो । 

 नेवा च्यारिटी अन्तर्गत रहेको नेवा एजुकेशन फण्डबाट विद्यार्थीहरुलाई छात्रवृत्ति निरन्तरता दिइने बताइएको छ । एजुकेशन फण्डको ब्याजबाट प्रत्येक ३ महिनामा १२ जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री (छात्रवृत्ति) प्रदान गर्दै आइरहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । समूहका अनुसार किरातेश्वर मावि, पञ्चायत मावि, भानुस्मृति मावि, शिक्षा सदन मावि, शिक्षा निकेतन मावि र निम्नमाध्यमिक विद्यालयका १२ जना विद्यार्थीलाई सामग्री प्रदान गरेको हो । उक्त अक्षय कोषमा हाल १२ लाख रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । सो कोषको ब्याजबाट विद्यार्थीहरूलाई त्रैमासिक रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।