धरान / महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला धरानमा भने महिलाहरु कै समुहले महिलालाई कुटपिट गरेर मृत्यु भएको घट्ना सार्वजनिक भएको छ ।   

धरान उपमहानगरपालिका वडा नंं १३ मा डेरा गरि बस्ने एकल महिला उषा राईको उपचारको क्रममा मृत्यु भए पछि यहाँ आमा समुह विवादमा मुछिएको छ । 

घट्ना अनुसार आफ्ना श्रीमानसँग नजिकिएको आरोपमा केही महिलाहरुसहित पुगेका उर्मिला राईले गएको कात्तिक ३ गते जथाभावी कुटपिट गरेपछि उषा गम्भीर घाइते हुनु भएको थियो । केही दिन अस्पतालमा उपचार गरेर डिस्चार्ज हुनु भएकी उषाले उपचार खर्च पाउने गरि प्रहरी कार्यालयमा मिलापत्र गरिए पनि पुनः स्वास्थ्यमा समस्या आएपछि झण्डै एक साताअघि अस्पताल भर्ना हुनु भएको थियो । उहाँ गत मंगलबार उपचारकै क्रममा निधन भयो । उहाँको निधन भए पछि उषाको परिवारले ७ जना विरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।

कुटपिट गर्नेहरु जनजागृति आमा समुहमा आवद्ध भएको भन्दै आमा समुहमाथि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । मृतकका छोरी, छरछिमेकी र प्रत्यक्षदर्शीहरुले पनि कुटपिटका मुख्य आरोपी उर्मिलासँगै आमा समुहका महिलाहरुपप्नि सहभागी भएको बताउदैं आउनु भएको छ । 

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले कुटपिटबाट घाइते भएकी उषाको उपचार पश्चात मेलमिलाप पनि भएको तर पछि पुनः विरामी भएर उपचारको क्रममा रहदा निधन भएको बताउनु भएको छ । घटनामा किटानी जाहेरी आएकाले जाहेरी अनुसार उर्मिला राईलाई पक्राउ गरिएको उहाँले बताउनु भयो । डिएसपी श्रेष्ठका अनुसार तीनदनि अघि ७ जना विरुद्ध जाहेरी दिएको थियो । ‘कुटपिटको भिडियो पनि प्राप्त भएको छ । मुख्य व्यक्तिलाई पक्राउ गरेका छौं । अन्यको विषयमा अनुसनधान जारी रहेको छ ।’–डिएसपी श्रेष्ठले भन्नु भयो ।

घटनाको मुख्य आरोपी भनिएकी धरान १३ निवासी उर्मिला राईलाई विहीबार प्रहरीले पक्राउ गरेको हो । घाइते अवस्थामा उपचारको क्रममा उषाको मृत्यु भएपछि उर्मिला फरार थिइन । 

 मृतक उषाका श्रीमानको करिब २ बर्षअघि नै मृत्यु भइसकेको छ । उहाँ दुई छोरीसहित डेरा गरि बस्दैं आउनु भएको थियो । उहाँले कपडा सिलाएर घर खर्च जुटाउदैं आउनु भएको स्थानीयले बताएका छन् । आरोपी उर्मिलाले आफ्नो श्रीमानसँग नजिकिएको आरोपमा उषामाथि आफन्त र महिलाहरु लगेर कुटपिट गरेको बताइएको छ । त्यसबेला विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ आमालाई पिलाएको छोरी स्मृति राईले बताउनु भयो । सोही असरले उषाको स्वास्थ्यमा गम्भीर असर पुगेको बताइएको छ । यो घटनामा जनजागृति आमा समुहको पनि नाम आए उक्त समुहले पत्रकार सम्मेलन गरि समुहको संलग्नता नभएको र केही सदस्य व्यक्तिगतरुपमा संलग्न भएको बताएको छ । संलगनहरुलाई कारबाही हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । 

यता कुटपिटबाट घाइते भएकी उषा राईको उपचारको क्रममा मृत्यु भएको घटनामा महिला सञ्जाल धरानले सरोकारवाला निकायहरुमा ध्यानाकर्षण गराएको छ । 

महिला सञ्जालले ईलाका प्रहरी, इलाका प्रशासन र उपमहानगरपालिकामा न्यायिक समिति प्रमुख तथा उपमेयर अइन्द्रबिक्रम बेघालाई विहीबार नै ध्यानाकर्षण पत्र बुझाएको छ । घटना दुःखद् भएको भन्दै सञ्जालले यथाशिघ्र सत्यतथ्य छानबिन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेको छ । 

सञ्जालले मानवअधिकार आयोग विराटनगर, राष्ट्रिय महिला आयोग काठमाण्डांै र नेपाल पत्रकार महासंघ सुनसरीलाई पनि बोधार्थ पठाएको छ ।