झापा  / आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ ।

आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो । झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच÷छ स्थानबाट गणना सुरु गरिने मत गणक कर्मचारी सौगात कटुवालले बताउनुभयो । करिब चार हजार पाँच सय मत गणना गर्न सुरु गरिएको र मतगणनाको परिणाम बिहान ९ बजे घोषणा गरिने उहाँले बताउनुभयो ।

 क्षेत्र नं २ मा कूल मतदाताको ६५ दशमलव ४२ प्रतिशतअर्थात् ८७ हजार सात सय २३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा निर्वाचनमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ रहेकोमा चार लाख ४६ हजार दुई सय ५५ मत खसेको कार्यालयले जनाएको छ ।

जिल्लामा ६७ दशमलव २७ मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ मध्ये चार लाख ४६ हजार दुई सय ५५ मत खसेको छ ।

निर्वाचन क्षेत्र नं १ मा ८७ हजार तीन सय ९६, क्षेत्र नं २ मा ८७ हजार सात सय २३, क्षेत्र नं ३ मा ८९ हजार छ सय ३७, क्षेत्र नं ४ मा ७९ हजार तीन सय ४९ र क्षेत्र नं ५ मा एक लाख दुई हजार एक सय ५० मत खसेको सो कार्यालयले जनाएको छ ।