धरान  / शिरमा ढाका टोपी । अनुहारमा मन्द मुस्कान । ओठमा नेकपा एमाले जिन्दावादको नारा ।  बराहक्षेत्र नगरपालिका ४ का सुवास थारु दिउँसो १२ बजे आफ्ना दौंतरीहरुसँग धरानको भानुचोकमा देखिनु भयो । उहाँको हातको सूर्यध्वजा शिरमाथि फहरिरहेको थियो । दौंतरीहरुको नेतृत्व गर्दै उहाँ मञ्चतर्फ अघि बढिरहनु भएको थियो ।  

धरान १७ की प्रमिला राई पनि उसैगरी हातमा जनता समाजवादी पार्टीको छाता चिह्न अंकित झण्डा फहराइरहनु भएको थियो । बिहीबार आज नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त जनसभा धरानको मुटु भानुचोकमा हुँदै थियो । प्रमिला धराने उत्साहको प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो । उहाँ भन्दै हुनुहुन्थ्यो–‘यसपाली धरानले राष्टिय नेता प्राप्त गर्ने निश्चित छ, धरानको विकासका लागि पनि अशोक राईलाई हामीले विजयी गराउनै पर्छ । प्रदेशमा रमेशकुमार राई, विजयकुमार राईलाई जिताउने दायित्व हाम्रो हो ।’

धरान १२ का एयुग राई आफ्ना समकालीन साथीहरुको ताँतमा सूर्यध्वजा र पताका टाँग्दै भेटिनु भयो । शिरमा एकै खाल्का ढाका टोपीमा सजिएका युवाहरुको मुस्कान एकैसाथ देखिंदै थियो । अनि गुञ्जायमान थियो स्टेजमा, मंसिर ४ नेकपा एमालेको सरकार ।    

चुनावी प्रचारको अन्तिम दिन बिहीबार धरानमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको संयुक्त जनसभामा हजारौंको उपस्थिति देखियो । धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीको प्रांगण खचाखच भरिंदै थियो । एमाले जसपा समीकरणलाई सदासहायता प्रकट गर्न मान्छे यत्रतत्र छरिएका थिए ।  

आज सुनसरी क्षेत्र नं. १ मा पर्ने धरान, वराहक्षेत्र र रामधुनीका एमाले जसपाका कार्यकर्ता र शुभचिन्तकहरु आफ्ना पार्टीका नेताका प्रतिबद्धता र एजेण्डा सुन्न भेला भएका छन् । 

उद्घोषकले प्रतिनिधि सभाका साझा उम्मेदवारलाई प्रमुख अतिथिको आसनग्रहण गराएका थिए । मञ्चमा एमाले र जसपाका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटी सदस्यहरुको आसन ग्रहण गराइएको थियो । युवा, उद्यमी, व्यावसायी, मजदुर, बुद्धिजीविहरुको मञ्चमा आतिथ्यता थियो । 

प्रांगणमा निर्वाचन क्षेत्रभरिका हजारौं मानिसले सभाध्यक्ष निर्वाचन परिचालन कमिटीका संयोजक मीन सुब्बाका कुरा सुन्दै थिए । सभाध्यक्षको आसनग्रहण गर्नु अघि संयोजक सुब्बाले निर्वाचनको ७२ घण्टा बाँकी समय रहँदा पार्टीको केन्द्रीय कमिटीको निर्णयबाट चित्त दुखेकाहरुलाई दुःखलाई त्याग गरी पार्टी काममा फर्कन अनुरोध गर्नु भयो । नेता कार्यकर्ताको परर तालीले धरानको भानुचोक गुञ्जायमान भयो । 

उद्घोषक निर्वाचन परिचालन कमिटीका सचिव तथा नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले स्टेजमा प्रदेश सभा क का उम्मेदवार रमेशकुमार बस्नेत, ख का उम्मेदवार विजयकुमार राईलाई स्वागत गरिसक्नु भएको थियो । उहाँहरुसँगै प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार मोतीराज सुनुवार, सुशिला श्रेष्ठ, दलमर्दन कामीले पनि उपस्थिति सामु आफ्नो परिचय दिनु भयो । प्रदेश सभाका उम्मेदवारहरु लहरुमाया जिमी, यशोदा कायस्थ, भीम राई पनि उपस्थितिसामु अभिभादन व्यक्त गर्दै हुनुहुन्थ्यो । 

मञ्चमा प्रमुख वक्ताका रुपमा एमाले स्थायी कमिटी सदस्य गुरु बरालले आत्थ्यिता ग्रहण गर्नु भयो । उहाँले पनि उम्मेदवारको पक्षमा महौल बनाउनु भयो । एमाले जसपा समीकरणले आसन्न निर्वाचनपछि सरकार निर्माण गर्दा अशोककुमार राईलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने निश्चित छ । यो निश्चयका कारण पनि सुनसरी क्षेत्र नं. १ का मतदाता प्रतिनिधि सभामा छाता चिह्नमा र प्रदेश सभामा सूर्य चिह्नमा मतदान गर्न उत्साहित रहेको नेतृत्वहरुले बताउँदै आएका छन् । 

नेकपा एमाले र जनता समाजवादी पार्टीले साझा प्रतिबद्धता र विषयगत प्रतिबद्धता समेटिएको प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ । उपस्थित जनतामा पनि स्वयम्सेवकहरु प्रतिबद्धतापत्र वितरण गरिरहेका देखिन्थे । 

एमाले जसपा समीकरणले साझा प्रतिबद्धताहरुमा १४ बुँदामा प्रस्तावित ठूला परियोजना, जसले सुनसरी क्षेत्र नं. १ को मुहार फेर्ने अपेक्षाका साथ प्रतिबद्धता प्रस्तुत गरेको छ । जसमा धरान खेलग्राम, निर्माणाधीन स्मार्ट बसपार्क, धरान १७ स्थित सप्तरंगी पार्क, शिवजट्टाको सौन्दर्यीकरण र पर्यटकीय पूर्वाधार विकास, किरातकालीन विजयपुर दरबारको पुनर्निर्माण, धरान ६ मा औद्योगिक ग्राम, स्टल र हाउस, विष्णुपादुका, बराहक्षेत्र, विजयपुर क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास, धरान २० मा कोका खोला ड्याम, धरान ४ हर्दियामा मनमोहन पार्क, धरान २० मा तारेभिर रक क्लाइम्बिङ, केबरकार, वृहत बराहक्षेत्र, विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, चतरा र रामधुनीलाई समेटेर वृहत धार्मिक सर्किट निर्माण गर्ने ठूला परियोजना अघि सारेको छ । 

एमाले जसपा समीकरणले विषयगत प्रतिबद्धताहरुमा पर्यटन प्रवद्र्धन, उद्योग व्यवसाय प्रवद्र्धन, कृषि खाद्य सुरक्षा, पशुपंक्षी विकास,, वातावरण संरक्षण र वन संरक्षण अभियान, शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र विकास, आदिवासी जनजाति, बालबालिका, युवा विकास, भूतपूर्व सैनिक तथा वैदेशिक रोजगारी, विपन्न दलित सशक्तीकरण, खेलकुद विकास, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, ज्येष्ठ नागरिक, अपांगता र यौनिक अल्पसंख्यक, स्वच्छ पिउने पानी र सरसफाई, साहित्य, संगीत र कला, मर्यादित श्रम सम्मानित मजदुर, सडक तथा भौतिक निर्माण, यातायात व्यवस्थापन, सूचना प्रविधि तथा सञ्चार, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी विकास र सुशासन गरी २४ वटा विषयगत प्रतिबद्धताहरु सार्वजनिक गरेको छ । 

एमाले जसपा समीकरणले निर्वाचन क्षेत्रमा शान्ति, लोकतन्त्र, स्वाधीनता र स्वाभिमान, समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान भन्ने नारालाई आत्मसात गरेको छ । निर्वाचनमा एमालेले समृद्ध नेपाल सुखी नेपाली को आधार, केन्द्र र प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार भन्ने नारालाई मुख्य चुनावी नारालाई आत्मसात् गरेको छ । समीकरणले राष्टिय हितको रक्षा र सम्बद्र्धन, स्थायित्व, सुशासन र विकासको प्रवद्र्धन गर्ने नीति लिएको छ । 

राप्रपा, बाम लोकतान्त्रिक गठबन्धनलगायतका चुनावी सभाभन्दा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको समीकरणको चुनावी सभा भव्यतापूर्वक र जनताको ठूलो उत्साहमा सञ्चालन भएको देखिन्थ्यो । 

गत स्थानीय तह निर्वाचनमा सुनसरी–१ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतलाई आधार मान्दा नेकपा एमालेको जनमत अगाडि छ । स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको एमालेको मत ३५ हजार २ सय १ छ भने गठबन्धनले ३४ हजार ९ सय २३ मत प्राप्त गरेको देखिन्छ । जनसभाको उत्साहलाई आधार मान्ने हो भने एमाले जसपा समीकरणले सुनसरी क्षेत्र नं. १ मा विजयी हाँसिल गर्ने अनुमान गर्न सकिन्छ । 

आजको चुनावी जनसभालाई हेर्दा, चुनावी कोण सभाहरुमा जसपाका संघीय परिषद् अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ मा एमाले र जसपा समीकरणका साझा उम्मेदवार अशोककुमार राईले अभिव्यक्त गर्ने सम्मेलन पर्यटनको झल्को आइरहेको थियो । 

उम्मेदवार राईले हजारौं मान्छे अट्न सक्ने सुनसरी क्षेत्र नं. १ लाई एउटा सभाहलको आवश्यक्ता रहेको र त्यसको निर्माण गर्न प्रतिबद्धता जनाउँदै आएका छन् । 

आसन्न निर्वाचनलाई केन्द्रित गरी राजनीतिक दलहरुले सभा सम्मेलन गर्ने आज अन्तिम दिन । भोलिदेखि स्थिर समय सुरु हुनेछ । यसको पूर्व सन्ध्यामा एमाले जसपाले गरेको जनसभामा हजारौंको भीडले धरानको आन्तरिक पर्यटनमा पनि टेवा पुर्याएको आभास भइरहेको थियो । यस अघि अन्य राजनीतिक दलहरुले समेत सभा सम्मेलन सम्पन्न गरिसकेका छन् ।