धरान / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

बुधबार धरानको भानुचोकमा गठबन्धनले आयोजना गरेको वृहत आमसभालाई सम्बोधन गर्दे प्रचण्डले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । उहाँले माओवादी केन्द्रबाट उम्मेद्वार बनेका मुक्सामहाङ मेन्याङ्बो युवा र केही गरौं भन्ने हुटहुटी भएको उम्मेद्वारको रुपमा रहेको उहाँको भनाई थियो । 

उहाँले प्रदेशसभा १ (१) का उम्मेद्वार कांग्रेसका उमेश थापा पनि मन्त्री हुन योग्य भएको भन्दै आफ्नो पार्टीको नभएपनि उहाँलाई पनि प्रदेशको मन्त्री बनाउन सिफारिस गर्ने बताउनु भएको थियो । उहाँले प्रदेशसभा १(२) मा उम्मेद्वार रहनु भएका रेवतीरमण राईलाई पनि जिताएर पठाउन आग्रह गर्नु भयो । उहाँलाई मन्त्री बनाउने चाही कुरा गर्नु भएन् । 

 प्रचण्डले मंसिर ४ को निर्वाचन अगाडि जाने विचार, प्रवृत्तिको गठबन्धनले जित्ने कि पछाडि फर्कने विचारधारा र प्रवृत्तिको गठबन्धनले जित्ने भन्ने जनमत संग्रह भएको बताउनु भएको छ । विचार पुर्याएर लोकतान्त्रिक वाम गठबन्धनलाई मत दिन आग्रह पनि गर्नु भएको थियो । 

उहाँले चुनावी सभालाई सम्बोधन गदैं धरानका भुपुहरुको समस्या समाधान गर्ने, मेयरलाई पानीको लागि बजेट र योजना दिने केन्द्रबाट सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनु भएको छ । 

धरानको खानेपानी समस्या देशभरि नै जानकारी भएको भन्दै मेयर हर्क साम्पांङ पानीकै समस्या समाधान गर्छु भनेर मेयर बनेको भन्दैं उहाँलाई धन्यवाद दिनु भयो