इनरुवा  / संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहका जनप्रतिनिधीहरुलाई प्रयोग गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दैं निर्वाचन कार्यालयमा उजुरी परेको छ । 

सरकारको प्रवक्ता समेत रहेका प्रतिनिधि सभा सदस्य तर्फ सुनसरी ४ को गठबन्धन उम्मेद्वार कार्की विरुद्ध नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो ।  उहाँसहित कोशी गाउँपालिकाका अध्यक्ष एयुव अन्सारी, गफार अन्सारीलगायत विरुद्ध उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ । 

जसपा नेता सहित मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमालेको सुनसरी ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले कार्की विरुद्धको आचारसंहिता उल्लंघनको उजुरी दर्ता गराएको उहाँले बताउनु भयो ।  

भीडभाड, सवारीसाधनको दुरुपयोग, सुरक्षा निकायको जम्बो उपस्थिति, स्थानीय जनप्रतिनिधिको खुलेआम प्रचार र काठमाण्डौंबाट मन्त्रालय मातहतका कर्मचारी समेत झिकाएर खुलेयाम चुनावी प्रचारमा खटाएको प्रमाण सहित उजुरी दिइएको निर्वाचन परिचालन कमिटी सुनसरीकी संयोजक लक्ष्मी गौमतले जानकारी दिनु भयो ।  

आइतबार सुनसरीको लौकहीमा पत्रकार सम्मेलन गरि उजुरी दिएको बारे जानकारी गराइएको थियो ।