धरान  / सुनसरी क्षेत्र न १ मा अवस्थित पवित्र तीर्थस्थल वराहक्षेत्र पुगेर स्थानीय मतदाता सामु उम्मेदवारहरुले मतदान गर्न आग्रह गरेका छन् ।

नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवार प्रतिनिधि सभातर्फ अशोक कुमार राई र प्रदेश सभा ुखु तर्फका उम्मेदवार विजयकुमार राईले भोट अपील गरे ।

वराहक्षेत्रलाई धार्मिक सांस्कृतिक पर्यटकीय स्थलका रुपमा राष्ट्रियस्तरबाट घोषणा गरी यसको समुचित विकास गर्न आवश्यक रहेकाले प्रतिनिधि सभामा छाता चुनाव चिह्नमा र प्रदेश सभातर्फ सूर्य चिह्नमा मतदान गर्न उम्मेदवारले अपील गरेका हुन् ।

बराहक्षेत्रको स्नानघाट व्यवस्थित गर्ने, गुप्त वराहको उत्खनन् गर्ने र कोशी कटान लागेका क्षेत्रलाई तटबन्धन गर्ने बराहक्षेत्र मन्दिर एरियावासीका प्रमुख समस्या रहेकाले पहिलो प्राथमिकता यहाँको भौतिक निर्माणलाई दिने उम्मेदवार अशोककुमार राईले बताउनु भयो । 

भोट माग्न घरदैलो पुगेका उम्मेदवारलाई स्थानीयले स्वागत गर्दै आफ्ना समस्या राख्नु भयो । विश्वकै पहिलो धार्मिक तीर्थस्थल रहे पनि विकास र भौतिक निर्माणका दृष्टिले पछि परेको बराहक्षेत्रलाई केन्द्रीय पहुँचमा जोड्न नसकेको स्थानीयले गुनासो गरेका थिए ।

गुनासो सम्बोधन गर्दै उम्मेदवार राईले बराहक्षेत्रका समस्यालाई समाधान गर्न आफ्नो भरमग्दुर प्रयास रहने बताए । आफू यही क्षेत्रको स्थानीयवासी भएको र यहाँका समस्यालाई बुझेको बताउदै निर्वाचन क्षेत्रलाई धार्मिक सर्किटले जोड्ने बताउनु भयो । उम्मेदवार राईले यो क्षेत्रको मुख्य आम्दानीको स्रोत धार्मिक पर्यटन भएकाले सडक, संरचना र सांस्कृतिक प्रवर्धन आफ्नो मूख्य एजेण्डा रहेको बताउनु भयो । 

वराहक्षेत्र मन्दिरसम्म पुग्ने बाटो वर्षामा अवरुद्घ हुने, पहिरो झरिरहने कारणले गर्दा बिजुली बत्ती, सन्चार सुविधाबाट समेत बन्चित हुने वर्सेनीको समस्या रहेकाले यसको दीर्घकालीन समाधानका लागि पहल गरिदिन उम्मेदवारसामु स्थानीयले माग राख्नु भयो । 

सुनसरी १ बाट प्रदेश सभातर्फ 'ख' का सूर्यध्वजावाहक उम्मेदवार विजयकुमार राईले प्रदेश र सङ्घीय सरकारको बजेटमै बराहक्षेत्रको समस्यालाई सम्बोधन गरी निराकरण गर्न आफ्नो प्रयत्न रहने बताउनु भयो । 

जनताले निर्वाचित गराएर पठाएको खण्डमा बराहक्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई उजागर गर्न र यसको प्रचार प्रसार साथै प्रवर्धन गर्न नीतिगत निर्णय गरी बजेटको समेत व्यवस्थापन गर्न आफ्नो पहल रहने उम्मेदवार राईले प्रतिबद्धता व्यक्त गर्नु भयो । 

घरदैलो अभियानमा बराहक्षेत्र नगरपालिकाका पूर्व मेयर निलम खनालले स्थानीय समस्याबारे उम्मेदवारलाई जानकारी गराउनु भएको थिए । 

हिन्दू धर्मावलम्वीको पवित्र धाम वराहक्षेत्र भएकाले यसको विकास र सौर्न्दर्यीकरणमा विशेष ध्यान दिनु पर्नेमा पूर्व मेयर खनालले ध्यानाकर्षण गराउनु भएको थियो । 

प्रतिबद्धतालाई व्यवहारमा उतार्न र बोलीलाई विकासमा रुपान्तरण गर्न स्थानीय युवा राजु घिमिरेले आग्रह गर्नु भयो । राष्ट्रिय नेतालाई मतदान गर्नुको अर्थ स्थानीय क्षेत्रको विकास र समृद्धिको ढोका खोल्नु हो भन्ने हामीले बुझेका छौं,ु बराहक्षेत्रका युवा घिमिरेले भन्नु भयो –‘हामी मतदान गर्न लालायित छौं, तपाईहरुले पनि निर्वाचित भएपछि जनताका समस्या सुल्झाउन प्रयत्नशील रहनुपर्यो ।