सुनसरी  / गढी गाउँपालिकामा रहेको चौधरी ग्रुपको उद्योगमा कार्यरत श्रमिक मजदुरहरलाई कम्पनीले विनाकारण सेवा सुविधाबाट बञ्चित गरेकोमा नेकपा एमालेकी नेतृ भगबती चौधरीले आपत्ति जनाउनु भएको छ ।  

चौधरी ग्रुपको वाईवाई उद्योगमा श्रमिकले समयमै ज्याला नपाउनु दुखःद रहेको भन्दै नेतृ भगबती चौधरीले काम गरेर खाने श्रमिक वर्गको श्रम र परिश्रमले चल्ने उद्योगले सेवा नदिनु श्रमको अवमुल्यन गरेको पनि बताउनु भयो ।  

सामाजिक सञ्जाल फेसवुकमा लेख्दै प्रतिनिधिसभा उम्मेदवार समेत रहेकी चौधरीले कम्पनीले ५ वर्षदेखि कार्यरत कर्मचारी माथि देखाएको ज्यादती श्रम ऐन विरुद्ध रहेको पनि उल्लेख गर्नु भएको छ ।  ‘काम गरेर खाने श्रमिक वर्गकै श्रम र परिश्रणबाट चल्ने उद्योगले श्रमिकलाई नै प्रताडित गर्दै उनीहरुलाई सेवा सुविधा नदिनु श्रमको अवमुल्यन गर्नु हो ।’– चौधरीले भन्नु भयो –‘विगत ५ वर्षदेखि कार्यरत मजदुरहरुलाई अनेक वहाना देखाएर निकाल्नु, सेवा सुविधा घटाउनु श्रम ऐन विपरित समेत भएकाले भत्सर्ना गर्दछु ।’

उहाँले तत्काल श्रमिक मजदुरका समस्याहरु हल गर्न कम्पनी प्रशासन समक्ष माग गर्नु भएको छ ।  श्रमिकहरुले विगतमा पाउँदै आएको बोनस सुविधा कटौती गरेको, विना कारण वर्षौंदेखि कार्यरत कामदार निकाल्न थालेको भन्दै असोज १४ गते १ महिने लिखित अल्टिमेटम दिएका थिए । अल्टिमेटमलाई प्रशासनले वेवास्ता गरेपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ ।