धरान / मंसिर ४ गते हुने निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्मको लागि मदिरा बेच्न र सेवन गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध गरेको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय भएको उहाँले बताउनु भएको छ ।  

अब निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्मको लागि जिल्लाभर मादकपदार्थ ओसारपसार, बिक्रीवितरण र सेवन कार्य निषेध गरिने प्रशासनले जनाएको छ । त्यसका लागि जिल्लाका सुरक्षा निकायहरुलाई निर्देशन जारी गरिएको उहाँले बताउनु भएको छ । 

निर्वाचनका बेला मदिरा विक्रि वितरण बढि हुने र निर्वाचनलाई नै असर गर्ने भएकाले निर्वाचन अवधीमा विक्रि वितरण तथा सेव नगर्न प्रशासनले आग्रह गरेको छ । निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ दफा ६(थ) मा निर्वाचनको समयमा मदिरा बेच्न र सेवन गर्न नहुने व्यवस्था छ ।